नेपालको अर्थतन्त्र थप अप्ठेरोमा, चार महिनामै १ खर्ब ५४ अर्ब बढीको बिदेशी विनिमय सञ्चिती घट्यो

काठमाडौं । सबै आर्थिक सूचक नकारात्मक देखिन थालेपछि नेपालको अर्थतन्त्र थप अप्ठेरोमा परेको छ । निरन्तर घटिरहेको विदेशी विनिमय चापका कारण सरकारले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो साख नै गुमाउने हो कि भन्ने चिन्ता समेत व्यक्त गर्न थालिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्याँकमा सन्तोष गर्ने कुनै ठाउँ नै छैन । सबै क्षेत्रका सूचक नकारात्मक छ । यसको दोष वर्तमान सरकारलाई दिन थालिएको छ । सरकारले चुस्त काम गर्न नसक्नु र अदूरदर्शी निर्णय नै यसको प्रमुख कारक रहेको विश्लेषण हुन थालेको हो ।
चार महिनामै १ खर्ब ५४ अर्ब रुपैयाँभन्दा बढीको बिदेशी विनिमय सञ्चिती घटेपछि अर्थतन्त्र थप अप्ठेरोतिर पुगेको आँकलन हुन थालेको हो । आयात निरन्तर बढिरहने, रेमिट्यान्स कम आउने र सरकारले वैदेशिक ऋण तथा अनुदान लिन नसक्ने भएपछि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र समस्यामा परेको हो । तथ्यांकअनुसार मुलुकमा वस्तु तथा सेवा खरिद गर्न ७ दशमलव २ महिनालाई मात्र धान्ने विदेशी मुद्रा संचित छ । यो लगभग बोर्डर लाइनको नजिक हो ।
डलर सञ्चितिले ६ महिनाको आयात पनि धान्न नसक्ने अवस्था आयो भने नेपाल जस्तो देशले चिन्ता लिनुपर्ने अवस्था मानिन्छ । महिनैपिच्छे निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति यही गतिमा रित्तिँदै गएमा एक त सरकारको मनोबल कमजोर हुनेछ । त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो साख समेत गुमाउनेछ । विदेशी मुद्राको अभाव भएपछि आयातित सामानको भुक्तानीमा समस्या आउन सक्नेछ । मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन बिग्रन गएमा अन्तर्राष्ट्रिय वित्त कम्पनीहरुबाट ऋण लिनुपर्ने अवस्था पनि आउन सक्नेछ ।
गत असार मसान्तसम्म मुलुकमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति चालु वर्षकोे चार महिनामा आउँदा ११ प्रतिशतले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । यसले मुलुकको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमै धक्का पुग्ने अनुमान गरिएको छ । उपलब्ध स्रोत–साधनको उचित प्रयोग, उत्पादनमूलक क्षेत्रमा लगानी, निर्यात बढाउन, विदेशी मुद्रा आर्जन गरी त्यसबाट फेरि पुँजी निर्माणको वातावरण सृजना गर्न मुलुक लामो समयदेखि चुकेको कारण नै यस्तो अवस्था बन्दै गएको हो । संकटको बाटोमा रहेको हालको अर्थतन्त्रलाई सही ढंगले अघि बढाउन संयमतापूर्वक हस्तक्षेप गर्नुपर्ने एवं विगत र वर्तमानको तुलनात्मक अवस्थाको मिहिन अध्ययन गरी सुधारका उपायहरू पहिल्याउनु पर्ने देखिन्छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आर्थिक सूचक नकारात्मक
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्