Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

कांग्रेस बागमती प्रदेशमा देउवापक्षका बानियाँ विजयी,सिटौला पक्षको सहयोग


काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा शेरबहादुर देउवापक्षीय इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पहिलो चरणमा ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको मतदान प्रक्रियाबाट रामचन्द्र पौडेल पक्षका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई एक सय ५८ मतअन्तरले पराजित गर्दै बानियाँ निर्वार्चित भएका हुन् ।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, गगन थापालगायत नेताहरुको साथ पाएका दुई पटक संविधानसभा सदस्यसमेत भइसकेका पुराना नेता केसीलाई पराजित गर्दै बर्तमान मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले एक हजार ८५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नुवाकोटका पूर्वसभापति केसीले ९ सय २७ मत पाए । २ हजार २५ मतमध्ये १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको विधान अनुसार दुई वा सो भन्दा बढी उम्मेदवार रहँदा सभापतिमा ५१ प्रतिशत मत पुग्नुपर्ने प्रावधान छ । शनिबार दिउँसो भएको मतदान प्रक्रियाबाट बानियाँ, केसी र भीमसेनदास प्रधान कसैले पनि ५१ प्रतिशत मत ल्याएका थिएनन् । पहिलो चरणमा भएको मतदान प्रक्रियाको परिणमअनुसार तीन जना उम्मेदवारमध्ये बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले बढी मत ल्याएका थिए । सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो भएका प्रधानले १ सय ९७ मात्र मत पाएका थिए ।

बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका थिए । ५१ प्रतिशत नपुग्दा उनी पुनः निर्वाचनमा सहभागी भएका थिए । तेस्रो भएका प्रधान निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । प्रधानले औपचारिक भेलामार्फत बानियाँलाई आफनो समर्थन रहने घोषणा गरेका थिए । उनी नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्द्रबहादुर बानियाँ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं