दलविहिन बनेक महन्थ ठाकुर, जसले सर्बोच्चको फैसला कुरिरहेका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा दलविहिन बन्न पुगेका छन् । नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जनता समाजवादी पार्टीसम्मको यात्रामा महन्थले राजनीतिबाट सन्यास लिएर दल विहिन बन्नु परेको होइन । निर्वाचन आयोगको निर्णयले दलविहिन बनेका महन्थ र उनको समूहमा रहेका नेताहरु भविष्यको बारे कस्तो रणनीति बनाउँदै छन त भन्ने जिज्ञासा सबैमा छ ।
जेठ ७ को मध्यरातमा प्रतिनिधिसभा विघटनपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई छाडेर आफूतिर आएका र आफैंले मन्त्री बनाएका मात्र होइन, वर्षौदेखी आफूसँगै रहेका एकपछि अर्को नेताले छाडेपछि राजनीतिको उत्तरार्धमा महन्थ ठाकुर दलविहिन बनेका छन् । एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रधानमन्त्रीकै अफर आउँदा समेत ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यस्तो लाभ पनि नलिएको विश्लेषण हुन थालेको छ ।
महन्थको राजनीतिक यात्रा
सम्पत्ति, निजी जीवनदेखि राजनीतिसम्ममा त्यागका पर्याय बनेका महन्थले लामो राजनीतिक जीवनमा अवसर नपाएका पनि होइनन् । कांग्रेसको राजनीतिबाट २०४८ मा सर्लाही–५ बाट बहुदलीय व्यवस्थामा पहिलो चुनाव जितेका उनी २०५१ मा उपसभामुख बनेका थिए । २०५१ को मध्यावधि निर्वाचन जितेर कृषिमन्त्री पनि बने । २०५६ मा कानुनमन्त्री बनेका महन्थ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुँदै कांग्रेसको कोषाध्यक्षसम्म बनेका थिए । कांग्रेस छाडेर मधेस आन्दोलनमा लाग्नुअघि उनी विज्ञान तथा प्रविधिमन्त्री बने । २०६४ को चुनावअघि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका ठाकुर २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पराजित भएपनि मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ जना भाग्यमानी भित्र परेर संविधानसभा सदस्य बनेका थिए ।
दोस्रो संविधानसभामा पनि हार व्यहोरे पनि उनी दोस्रो मधेस आन्दोलनमा निर्विवाद नेताका रुपमा स्थापित भए । संविधान घोषणा पछिको आम निर्वाचनअघि विभाजनबाट चिराचिरा बनेको मधेशवादी ६ दल मिलाएर राजपा बनाएका ठाकुरले जुनियर नेताहरुलाई अध्यक्ष मण्डलको संयोजकमा आलोपालो गर्न सहमति दिएर त्याग देखाए । राजपामा चलेको अन्त्यहीन अन्तरसंघर्षबाट आजित ठाकुरले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकता गर्न चाहेपनि लामो समय सम्भब भएन ।
२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउन खोजेपछि राजपा र संघीय समाजवादी पार्टीबीच रातारात एकता भएर २०७७ वैशाख १० गते जनता समाजवादी पार्टी नेपाल (जसपा) जन्मियो । उनै ओलीले दोश्रो पटक गरेको प्रतिनिधिसभा विघटन र सत्ता सञ्चालनमा साथ दिँदा ठाकुर जसपाको आधिकारिकता गुमाएर दलविहिन बन्न पुगेका छन् ।
१६ जना कार्यकारिणी समिति सदस्यलाई आधिकारिकता पाएका उपेन्द्र यादव पक्षका ३४ सदस्यहरुको बैठकले कारबाही गरेसँगै अब महन्थ समूहसँग पार्टीमै आत्मसमर्पण गरेर बस्ने, निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतमा रिट निवेदन मार्फत न्यायिक लडाई लड्ने र नयाँ दल गठन गर्ने बिकल्प मात्रै बाँकी छ । त्यहि भएर यतिबेला उनी सर्बोच्चको ढोकामा पुगेका छन् । नयाँ दल दर्ता गर्दा आफूसँग रहेका सांसदहरु समेत गुमाउनुपर्ने दबाबमा रहेको महन्थ–राजेन्द्र महतो समूहले कस्तो कदम चाल्छ, चासोका साथ प्रतिक्षा गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #महन्थ ठाकुर
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्