इंग्ल्यान्ड पहिलो पटक फाइनलमा, डेनमार्क पराजित
एजेन्सी । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।
डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । बक्सको ठिक बाहिरबाट २१ वर्षीय डाम्सगार्डले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए । तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरेका थिए। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ । यस अघि इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #इंग्ल्यान्ड, #डेनमार्क, #युरोकप फुटबल
ताजा खबर
- १आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
- २सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
- ३जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ
- ४मानव-वन्यजन्तु द्वन्द्व र वन डढेलोको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार
- ५सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्