‘ईश्वरको हत्या’ भएछ !
कहिले भीमसेनलाई
रेटिन बाध्य पारेर
कहिले वीपीलाई
जेलमा कोचेर
कहिले महेन्द्रलाई बम ताकेर
कहिले भण्डारीको
हत्या गुमनाम गरेर
अनि कहिले
अँध्यारो मुलुकमा
उजेलिँदै गरेका
सैयौँ उज्ज्वलहरू नै
नष्ट गरेर
मेरो देश थाक्छ मात्र
र पटकै पटक
फेरि अर्को कदम
पछाडि फर्किन्छ
मेरो देश !
कहिले माथवरको हत्या गर्छ
कहिले काजी भीम मल्लको शिर छेदन गर्छ
कोतपर्व र भण्डारखाल हुँदै
सुरक्षाको घेराभित्रैका
राजाकै वंश विनास गरिदिएर पनि
चटक देखाई दिन्छ
मेरो देश !
कहिले परिवर्तनका लागि भन्दै
देशै भरि रगतको खोलो बगाई दिन्छ
त्यसपछि पनि
हौसिँदै जुरुक्क उचालिन्छ
मेरो देश !
मेरो देश !
सीमानामा पर्खाल लाउन पनि सक्तैन
रातारात सारिएको
जङ्गे पिलर हेरेर
बरू हाँसिदिन्छ
कालापानीमा एक पटक मरिदिन्छ
लिम्पियाधुरा र लिपुलेकमा
सरक्कै साँगुरिइदिन्छ
र गण्डकी, कोशी, कर्णालीका बाँधहरूबाट
धुरूधुरू बगिदिन्छ
मेरो देश !
मेरो देश !
लोभ र पापको वशबाट
मुक्त हुन पनि सक्तैन
अरबौँ डलरमा आफैँलाई
बेहिसाब बेचिरहन्छ
मेरो देश !
न त स्वाभिमानको
न त स्वाधिनताकै अर्थ बुझ्छ
मेरो देश !
मेरो देश !
सुकुमार देखिने सिंहासनध्येयी
भित्रभित्रै व्वाँसारूपी
गज्जबका ठगहरूले
सुम्सुम्स्याएकै ढाँचामा
सधैँसधैँ लुटिन्छ
मेरो देश !
प्रत्येक भोटका बेला
एक पटक बिउँझिन्छ
र गन्धे झोलसँगसँगै
मासु चिउरामा आफूलाई साट्दै
फेरि मज्जाले निदाउँछ र
पटके सपना देख्न थाल्छ
मेरो देश !
मेरो देश !
कहिले सुगौली सन्धीमा मर्छ
कहिले भूइँचालोमा क्षतविक्षत हुन्छ
युगौँदेखि धर्मकै हिमायती
मेरो देश !
फिरङ्गीका दाउपेचमा
सहजै अधर्मी पनि बनिदिन्छ
मेरो देश !
हेक्का राख्ने आदत नभएको
मेरो देश !
मुखियासँगैको मिलेमतोमा
छिमेकीले लगाएको
घिनलाग्दो नाकाबन्दीको घाउ पनि
सहजै बिर्सिदिन्छ
उसलाई नि पत्याउँछ
यसलाई नि पत्याउँछ
जसलाई नि पत्याइदिन्छ
पत्यारै पत्यारको विषले
पटकपटक मर्दै बिउँतिन्छ
र थङ्थिलो हुन्छ
मेरो देश !
बलिया पाखुराजति विदेशीलाई बेचेर
मोज र भोज गर्छ
मेरो देश !
जे देख्यो त्यही बेच्छ
जे भेट्यो त्यही बेच्छ
मेरो देश !
बेचिरहन्छ चुरे
र आफ्नै आमाको कलेजो
भुटेर खाइ दिन्छ
मेरो देश !
अहिले पनि
कोरोनाकहरका उपहार
लासैलासको लस्करमा चढेर
प्रवेशद्वार नजिकै पुगेको छ
मेरो देश !
सीमानामा राक्षसका पदचाप सुने पनि
नसुनेझैँ गर्दै
स्वागतद्वार सजाएर
सङ्गिन हतियार लुला पारेर उभिएका
द्वारपाल झै बनेको छ
मेरो देश !
मेरो देश !
बोतल, कागत र थोत्रा बोराभित्र
भरिएको खरानी र भारू नोट
जताततै छरिएपछि
कतै डलरै डलरका डकारको गन्ध
वायुभरि प्रदुषित भएपछि
तिनकै अवयव
दन्त्यकथामा जस्तै
क्रमशस् क्रमशस् भयानक भएर
कतै सेता कतै काला
स्याउँस्याउँती राक्षसै राक्षस
जताततै फैलिएपछि
उ-देख्यौ ?
कतै कालो राक्षसले
कतै सेतो राक्षसले
हेर त
मेरो देश निलिरहेछ ।
मेरो देश नभेटेर
मैले उनको योनीमा
मुख गाडेर
सबै विलौना गाएँ
बोलिनन् गुहेश्वरी
उनी त
उसरी नै उत्तानो परिरहिन्
लिङ्गै नजिक पुगेर
मेरो देश मेरो देश गर्दै
म बेस्सरी चिच्याएँ
तर पशुपतिनाथ उसरी नै
ठिङ्ग उभिइरहे ।
अहिले मृत्युको कोलाहलको मृदङ्ग
कुना काप्चामा समेत
जताततै, जहिँतहीँ
आतङ्कको सङ्गीत सुनेर
झोक्राउनु पर्ने हो मेरो देश
आत्तिनुपर्ने हो मेरो देश !
तर होइन रहेछ
देशलाई खोकिलामा बन्धकी बनाएपछि
रक्तनशा बाज निरो भने
बाँसुरी पनि फालेर
यतिबेला
सितल गुफामा
मधुमास मनाउँदै रहेछ ।
मेरो देशको अस्तु
मेरो मुटुको सिरानीमा छामेपछि
बल्ल बुझ्दै छु
नीत्सेले त भनेकै थिए
हो, ‘ईश्वरको हत्या’ भएछ !
क्याटेगोरी : जीवनशैली, साहित्य
ट्याग : #‘ईश्वरको हत्या’ भएछ !
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्