Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उलंघन गर्नेलाई एक महिनासम्म कैद


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको हो ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावश्‍यक सेवा बाहेकका सबै सेवा सहित मानिसहरुको आवागमन समेत बन्द भएको छ । निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन समेत पाइने छैन। अत्यावश्‍यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन ।

अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न नदिने र जिल्लाभित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी निषेधाज्ञा लागू भएको हो । कोरोना रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि विहान ९ बजेदेखि साढे १० बजे सम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजे सम्म आवागमन गर्न दिने भएको छ।

अत्यावश्‍यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्व अनुमति आवश्यक पर्ने छैन। मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न पनि पाइने छैन् । त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन्। शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टियूशन सेन्टर, भाषा कक्षा लगायतका क्रियाकलापमहरु सञ्चालन गर्न समेत निषेध गरेको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न रोक लगाइएको छ ।

फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरा सञ्चालन गर्न पनि पाइने छैन। अत्यावश्‍यक सेवाका लागि घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ । हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखेरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानून बमोजिम कारबाही गरिनेछ । आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेमाथि पनि प्रचिलत कानूनबमोजिम कारबाही हुनेछ । आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
कर्फ्यु पनि लगाउन सक्ने
कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सीमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्नेछ । त्यसरी कफ्र्यूको आदेश दिंदा प्रमुख जिंल्ला अधिकारीले सो आदेश, कफ्र्यू लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीको लागि प्रचार गर्नु पर्दछ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं