चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले नेपालको मौसम प्रतिकूल बन्ने पूर्वानुमान गरिएको छ । बिहीबारदेखि वर्षा र हिमपात बढ्ने तथा कात्तिक १३ र १४ गते केही स्थानमा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । सम्भावित विपद्बाट बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा कृषि कार्यमा सावधानी अपनाउन र आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि नेपालको मौसम थप प्रतिकूल बन्ने पूर्वानुमान गरिएको छ । देशका विभिन्न भागमा वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेकाले बाढी, पहिरो तथा हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको भन्दै सम्भावित जोखिमबाट जोगिन पूर्वतयारी गर्न आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा देखिन थाल्नेछ । यसको प्रभावले देशका विभिन्न प्रदेशमा मौसम बदली हुनुका साथै वर्षा र हिमपात हुन सक्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कासम्म वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । बिहीबारदेखि भने मौसम थप प्रतिकूल हुने देखिएको छ । कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
चक्रवातको प्रभावका कारण शुक्रबार र शनिबार अर्थात् कात्तिक १३ र १४ गते कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणको चेतावनी छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले त्यस क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ । भारी वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जाने र जोखिमयुक्त बस्तीमा बाढी तथा डुबानको समस्या निम्तिन सक्ने भएकाले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
धानबाली भित्र्याउने समयमा हुन सक्ने वर्षाले कृषि उपजमा समेत क्षति पु¥याउन सक्ने भएकाले किसानलाई सम्भव भएसम्म कात्तिक १२ गतेअघि नै आवश्यक कृषि कार्य सम्पन्न गर्न र काटिएको धान सुरक्षित राख्न आग्रह गरिएको छ । प्राधिकरणले मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचना नियमित रूपमा हेर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न नागरिक, स्थानीय तह तथा सम्बन्धित निकायलाई पूर्वतयारीमा जुट्न र मौसमको चेतावनीलाई बेवास्ता नगर्न प्राधिकरणले आग्रह गरेको छ । सम्भावित जोखिमबाट जोगिन नागरिकले मौसम पूर्वानुमान र आधिकारिक सूचनालाई नियमित रूपमा हेर्न, भारी वर्षा भइरहेका बेला खोला तथा नदी तर्ने प्रयास नगर्न र नदी किनारमा नजान आवश्यक छ ।
चट्याङ परेको समयमा खुला ठाउँ, खेतबारी, अग्ला रूख तथा बिजुलीका खम्बामुनि नबस्न र सुरक्षित भवनभित्र आश्रय लिनुपर्छ । हावाहुरीका बेला कमजोर संरचना, रुख तथा बिजुलीका तारबाट टाढा रहन र हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण नगर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढी र पहिरोको जोखिममा रहेका बस्तीका नागरिकले आवश्यक सामग्रीसहित सुरक्षित स्थानमा सर्ने तयारी गर्नुपर्छ । साथै, किसानले काटिएको धान तथा अन्य कृषि उपज सुरक्षित राख्न र बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ । मौसमको चेतावनीलाई बेवास्ता नगरी समयमै सतर्कता अपनाउन सके सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- २चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ३रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो
- ४साढे दुई लाख कार्यकर्ता खोज्दै गगन, मंसिरभर घरदैलो अभियानमा जाने
- ५कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति



तपाईको कमेन्ट लेख्नुहोस्