Techie IT
  • २४ कात्तिक २०८१, शनिबार
KhojPatrika

यसरी भयो सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको ज्यान गयो !


काठमाडौं । सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषरत्न शाक्यको अवस्था खतरामुक्त रहेको बताइएको छ । शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको हो । पाइलट मनिषरत्न शाक्य मात्र बाँच्न सफल भएका छन ।

उनको उपचार केएमसीमा भइरहेको छ । मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको हो । दुर्घटनामा को पाइलट एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको मृत्यु भएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ । एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको हो । मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्जमा छ । जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे ७–९ एनएएमई जहाजले त्रिभुवन विमानस्थलको धावनमार्ग छोडेको थियो । यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो ।

जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ अर्थात् जहाज उडेको थियो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिएको थियो । जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी आएको थिएन ।

दुर्घटनाको समयमा मौसम सफा नै थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । जसले गर्दा दुर्घटना अझ रहस्यमय बनेको छ । जहाज चिप्लिएर बस्तीमा जानबाट रोकिएको छ । यो जहाजमा सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनसहित कर्मचारीहरू सवार थिए । पोखरा विमानस्थलको ह्यांगरमा जहाज एक महिनासम्म राखेर मर्मत गर्न अनुमति लिइएको थियो । क्यानेडियन कम्पनी बम्बार्डियरको सीआरजे २०० जहाज नेपालमा पहिलो पटक ठूलो दुर्घटनामा परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए । त्यस क्रममा प्राधिकरणको उद्धार समन्वय केन्द्रका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् । आकस्मिक बसेको मन्त्रिपरिषद् बैठक बैठकले छानबिन समिति गठन गरेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #बाँचेका विमानका चालक, #मनिषरत्न शाक्य, #सौर्य एयरलाइन्स

तपाईको कमेन्ट लेख्नुहोस्