धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना,सुरु भयो देउसी भैलो
काठमाडौं । हिन्दू धर्ममा तिहारमा दिपावली वा लक्ष्मी पूजालाई विशेष महत्वका साथ मनाईन्छ । साँझ परेपछि ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता राखेर लक्ष्मी पुजा मनाउने गरिन्छ । लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।
लक्ष्मी पुजा यमपञ्चकको एक भागको रूपमा पनि मनाइन्छ । वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवीलाई भनिन्छ । लक्ष्मि पुजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार तिहारको दिन घरको सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।
लक्ष्मी पूजाको दिन गृहेणीहरू साँझ गरगहना, पैसा, फलफूल र फूलमाला चढाइ लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्। लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ। लक्ष्मीपूजा गरेपछि त्यसदिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।
त्यसैगरी त्यो दिन माता लक्ष्मीको जन्म भएको पनि मानिन्छ । आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तिहारमा दिपावली, #धनधान्य, #पूजालाई विशेष महत्व
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्