जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला

ललितपुर । एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकासका लागि सञ्जाल (नेडाक) र राष्ट्रिय सहकारी बैंक लिमिटेडको संयूक्त आयोजनामा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गरिएको छ । नेडाकका अध्यक्ष पंकज कुमार बंसलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले गरेकी थिइन । काठमाडौमा आयोजित कार्यक्रममा दुई वटा कार्यपत्रहरू प्रस्तुत भएका थिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले सहकारी क्षेत्रमा वर्तमान समयमा देखा परेको वित्तीय संकटको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यपत्रमा सहकारीको विश्वसनीयता अभिवृद्धिका लागि सहकारीहरूले कार्यान्वयन गर्नु पर्ने विभिन्न नीति कार्यविधिहरु उपर चर्चा गरे । कार्यपत्रमा धेरै सहकारीहरू संस्थाहरुकोे लगानी घर जग्गा जस्ता अनुत्पादक क्षेत्रमा केन्द्रित रहेको कारण प्रतिकुल अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य कारणले देखा परेको वित्तीय संकटको बारेमा समेत चर्चा गरिएको थियो ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संस्थानका प्रोफेसर एवं जलस्रोतविद डा. विष्णुप्रसाद पाण्डेले एसियाली मुलुक सहित विश्वव्यापी रूपमा जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि सरोकारवालाहरू बिच जलवायु–उत्थानशील नीति संवादको लागि अनुकूल वातावरण सिर्जना गर्नु पर्ने कुरामा जोड दिएका थिए । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न विशेषज्ञको राय सङ्कलन गरी यसको प्रभावलाई कम गर्न एकीकृत संयन्त्र बनाएर अघि बढ्नु पर्ने भन्दै, जलवायु परिवर्तनबाट कृषि–व्यवसायको जोखिमलाई कम गर्नको लागि बिमा संयन्त्रका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।
कार्यपत्र माथि जिज्ञाशा राख्दै मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले स्थिरीकरण कोषको विषयमा राष्ट्र बैंकको भूमिका आउनु पर्ने बताए । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतका प्रतिनिधि बम बहादुर विसिले वित्तीय सहकारीहरूको प्रस्तुति धेरै जानकारी मूलक रहेको प्रतिक्रिया दिए । चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले सहकारीको ऋण नतिर्ने भन्ने अभियानलाई के भन्न सकिन्छ भन्दै प्रश्न गरेका थिए ।
कार्यक्रममा मन्तव्यको क्रममा बैंकका सल्लाहकार कमल चौंलागाईंले वैदेशिक मुद्रामा भएको सुधारले राजश्वमा नोक्सान हुँदा अर्थतन्त्र आयातमा निर्भर रहेको बताए । बैंकका नि–वर्तमान अध्यक्ष रमेश पोखरेलले कार्यक्रममा प्रस्तुत दुवै विषयहरू राम्रो रहेको बताउँदै राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैंकिङ्ग व्यवसाय गर्न दिने विषय के भएको छ, भनेर प्रश्न गरेका थिए । कार्यक्रममा सहभागी फिलिपिन्सका प्रतिनिधिले वातावरण प्रवद्र्धनलाई बढवा दिँदै वातावरणीय क्षेत्रमा हुने क्षति कम गर्दै जलवायु परिवर्तन विरुद्धको लडाइँलाई सबैले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
जलवायु परिवर्तनको सन्दर्भमा हामीले आगामी पुस्तालाई स्थानीय आवश्यकता अनुसार त्यसलाई समायोजन गर्न कृषि सहकारीलेहरुले काम गर्नु पर्ने उल्लेख गर्दै सहकारीका सिद्धान्तहरू केवल ऋणको समस्या मात्र नहुने भन्दै कृषि उत्पादन र जलवायु परिवर्तनको क्षेत्रमा पनि काम गर्नु पर्नेमा जोड दिए । सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले सहकारीको लागि जलवायु परिवर्तन चासोको विषय नभएता पनि यो महत्वपूर्ण क्षेत्र रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी ऐनले परिकल्पना गरेका संस्थाहरुको गठनमा अभियान र सहकारी विभागले संयूक्त रूपमा कार्य गर्नु जरुरी रहेको बताए । उनले गोष्ठी अत्यन्तै महत्वपूर्ण रहेको छ, सबै कार्यपत्रहरू महत्वपूर्ण रहे, सहकारीमा भएका समस्या क्रमशः सुधार हुँदै गएको भन्दै सन्दर्भ ब्याजदर स्वचालित हुनु पर्ने बताए । कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै बैंकका अध्यक्ष एवं नेडाकका उपाध्यक्ष के.बी. उप्रेतीले जलवायु परिवर्तनका कारण उत्पादनमा परेको नकरात्मक प्रभाव कम गर्न यस कार्यशालाले नीतिगत पहलकदमी लिने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले गरेका थिए । नेडाकका अध्यक्ष पंकज कुमार बंसलले कार्यक्रमको समापनमा बोल्दै राष्ट्रिय सहकारी बैंकको आतिथ्ययतामा भएको कार्यक्रममा सहभागीहरूको उपस्थिति उत्साहजनक रहेकोले कार्यशाला निकै सफल भएको बताए । नेडाक र नेपालको सहकारीसँगको सहकार्य अद्भुत रहेको उल्लेख गर्दै साझेदार सबैलाई धन्यवाद दिए ।
कार्यशाला कार्यक्रममा नेडाकका प्रतिनिधिहरु, भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय, राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी बिकास बोर्ड, राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरु, राष्ट्रिय सहकारी महासंघ, विषयगत सहकारी संघका प्रतिनिधिहरु र प्रारम्भिक संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्