प्रधानमन्त्री इमरान खानले भने म नोबेल पुरस्कारका लागि योग्य छैन

एजेन्सी २० फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन। पाकिस्तानमा प्रधानमन्त्री खानलाई नोबेल पुरस्कार दिनुपर्ने भन्दै अभियान चलिरहेका बेला उनले सोमबार यस्तो धारणा सार्वजनिक गरका हुन।
इमरान खानले स्थानीय जनताको चाहनाअनुसार कश्मिर समस्या समाधान गर्नेलाई नोबेल पुरस्कार दिनुपर्ने धारणा सार्वजनिक गरेका हुन। खानले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन। त्यसका लागि योग्य त्यो हुनेछ जसले काश्मिरका जनताको इच्छा अनुसार काश्मिर विवादको अन्त्य गराउनेछ।‘ भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्तमानलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान नै चलाइएको छ। इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने मागको पक्षमा झण्डै तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन। द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै आफ्नै देशका जनताले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने माग सहितको अभियान चलाएका हुन। देशभरी चलाइएको हस्ताक्षर अभियान र दवाव अनुसार पाकिस्तानका सूचना मन्त्री फावाद चौधरीले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसदमा प्रस्ताव पनि दर्ता गराएका छन। पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका चालक अभिनन्दन वर्तमानलाई उनकै देशमा फिर्ता पठाएपछि विश्वव्यापीरूपमा प्रधानमन्त्री इमरानको प्रशंसा भएको छ। भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको थियो। हमलाको जिम्मा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैस–ए–मोहम्मदको हात रहेको बताउँदै आएको छ भने भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको दाबी गर्दै आएको थियो। त्यही दाबीअनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो। त्यही विमानमा रहेका पाइलट अभिनन्दनलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो। तर ती विमान चालकलाई बिना सर्त प्रधानमन्त्री खानले भारत तर्फ नै फिर्ता पठाएपछि खानलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने विषय उठेको हो। पाकिस्तानी प्रधानमन्त्री खानले दुवै देशबीच युद्धले नभई वार्ताद्वारा समाधान हुने भन्दै अभिव्यक्ति दिदै आएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
तपाईको कमेन्ट लेख्नुहोस्