Techie IT
  • ५ असार २०८१, मंगलबार
KhojPatrika

सत्य पैसा हो, बाँकी सबै भ्रम


मनको पाखाभरी देश फुल्थ्यो । खोइ कसले रोपिदिएको हो ? मनमा उम्रीएको देशभक्ती सपनाको फुल हरियो र बास्नादार थियो । सोही स्वप्नाको सुगन्धित उर्जाले जीवन दौडाएको थिएँ । हजारौं म जस्तैलाई मेरो सपना भित्र फुलाउने मेरो अर्को सपना थियो ।

चेतनामा सदा देश बोकेर दौडिने म आज परदेश पुगेको छु । खाडिको तातो घामले देशभक्ती सपना मुर्झाएको छ । हुन त रेमिट लाई माध्यम बनाएर पनि मैले मेरो देशभक्ती जीवितै राखेको छु क्यारे । तर मेरो सपनाको देशभक्ति कन्दरामा जीवनको फुल फुलाउने आदर्शको थियो ।

बल्न लागेको दियो राजनितिक हुण्डरिले निभाइछोड्ने हाम्रो देशको बिडम्बना रहेछ । श्वास फेर्न पनि पार्टिहरुबाट हावा पैचो माग्नुपर्ने परस्थितिमा पार्टिवाला झोला कन्टेनरमा फ्याँकिदिएको मलाई परदेश नहिडी सुखै भएन ।

सामान्य आर्थिक हैसियत भएको परिवार छ हाम्रो । मेरो पढाइ अलपत्र परिसकेको थियो । पढाइ नभएका हामीले के काम पाउनु देशमा ? काम गर्ने चेष्टा नभएको पनि होइन, धेरै ठेकेदार संग लेबर गरेको छु । नाली खनेको छु । ढुङ्गा फोडेको छु ।सिमेन्ट,गिट्टी र बालुवा सबै संग खेलेको छु ।

देशमा काम गर्नुको दुइटा समस्या छः पहिलो ज्याला कम छ, र दोस्रो समयमा ज्याला पाइदैन । कमाएको ३० हजार पाउँन ६० दिन संघर्ष गरेको भोगाइ छ मेरो । यहि भोगाइ ले त परदेशिन प्रेरणा दियो ।

उमेर बढे पछि भबिष्यको चिन्ता पनि बढ्दो रहेछ । भबिष्य बनाउने नेपाली सुत्र त त्यही हो पासपोर्ट। पासपोर्ट नबनाई भबिष्य कुन नेपालिको बन्छ र ? ए अँ बन्छ नि । नेता संग फोटो खिच्नेहरुको । नेता जि को दैलोमा चाकडी टक्र्याउनेको । उहाँको आदेशमा गुलाई सुन भन्नेको ।अनि सामुहिकताको नारा दिएर धनको कुम्लो एक्लै उठाउनेको ।

दुनियाँको दौडले मेरो मगजको ढोका उघारिदियो । ढोका भित्र ठूलो अक्षरमा लेखेको थियो जीवन आदर्शले चल्दैन,पैसाले चल्छ । पैसा कमाउने साधन बिदेश भन्दा अर्को भेटिएन । तब त काठमाडौ हानिय भिजा लगाउन। खाडिको भिजा लगाउन पनि दिशा निस्किने रहेछ । पूरा दुई महिना लाग्यो ।

भिजा लाग्दा मन दोधार भयो । खुशी हुनु कि दुखी ? एकातिर देश छाड्न पटक्कै मन नभएको ,अर्कोतिर ट्राइ गरेको भिजा सफल भएको । बिदेश के म मात्रै जाँदै छु र ? बग्ने सबै खोलाहरु नदि सम्म पुगे जस्तै त हो नेपालिका लागि परदेश।खोला र नेपाली जवानहरुमा एउटै फरक त छ,खोलाहरु फर्किएर मुहान सम्म आउने चाहाना गर्दैनन् ,जवान फर्केर घर आउने सपना देख्छ्न ।

भिजा झरे पछि एजेण्टले काठमाडौं बोलाए । प्लेन कहिल्यै नचढेको म,जेट विमान चढ्ने कल्पनामा मुग्ध हुदै काठमाडौको गाडी चढेँ । काठमाडौँ पुगेपछि थाहा भयो प्लेन चढ्ने धेरै दिन बाँकी रहेछन् ।टिकट नै लिइएको रहेनछ । अब टिकटको पर्खाइमा बस्नुपर्ने भो । हिजो भिजाको पर्खाइ आज टिकटको पर्खाइ भोलि प्लेनको पर्खाइ । यो जिन्दगिमा, कतिवटा पर्खाइ परेका होलान मेरो भागमा ?

म काठमाडौँमै थिएँ । टिकट फिक्स भएको खबर पाएँ । त्यही दिन आमालाई बिरामिले च्यापेको पनि सुनेँ । खुशी र दुख संगै घोलिएर किन आएको होला ? आमालाई काठमाडौमै ल्याएर उपचार गर्नुपर्ने भयो । पर्सि टिकट छ,आमा अस्पतालको बेडमा हुनुहुन्छ । देश छाड्दा त्यसै त मन कमजोर हुन्छ । झन कमजोर परिस्थिती किन बनाएको होला दैवले ? हुन त मेरो हिम्मतको परीक्षा होला यो ।

उड्ने दिन आयो । ९ः३० बजेको प्लेन टिकट थियो । सबै तयरी हिजै सकेको थिएँ । आजको काम आमा संग बिदा माग्नु र प्लेन चढ्नु थियो । श्री बिरेन्द्र अस्पताल छाउनीको बेड नं २६६ मा आमा पल्टिनु भएको थियो । कुरुवा दिदी हुनुहुन्थ्यो । अब म हिंड्नुपर्छ,म जान्छु भन्नै आँटेको थिएँ । ओठहरु कापेँ ,आँखा नियन्त्रण बाहिर गए । आँखाको साउने मुल फुट्यो । छुट्न खोजेको डाँको रोक्दै हत्तपत्त बाहिर निस्किएँ । अस्पतालको गेटमा आएर आँसु पुछेँ ।

ल राम्ररी गएस है भन्न खोजेकी आमाको गला अबरुद्ध थियो । आमाले म तिर हेर्न सक्नुभएन । जमिनमा आँखा जोतेर जा रामरी जा भन्नुभयो । तब त मेरो पनि मुटु फुट्ला जस्तो भएको हो । आमा संग बिदा मागेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल तिर सोझिए । खिन्न मनले आफ्नै शरीर गह्रुङ्गो लागेको थियो आफैलाई ।

आमालाई अस्पतालको बेडमा सुताएर हजार डाँडा र सातौँ समुन्द्रको आकाश छेड्नुपर्ने कस्तो मेरो देश ?  कस्तो हाम्रो बाध्यता ?  थुक्न मन लाग्यो । देशलाई थुक्न भएन । नेतालाई थुकेँ, प्रशासनलाई थुकेँ । यो देशको सत्ता शक्ती र समग्र सिस्टमलाई थुकेँ । थुकेर पो के हुन्छ र है ?

हस्पिटलबाट बिमानस्थल हिड्दा ७ बजिसकेको थियो । बाटोमा जाम रहेछ । हाय रे काठमाडौँ मान्छेको यात्रा एक आधा घण्टा नरोके त के काठमाडौँ ? सब चिज भुल्न मिल्छ तर आफ्नो पहिचान त भुल्नै भएन नि होइन र ? जाम छिचोल्दै बिमानस्थल पुग्यौँ ।मलेशिया सम्म संगी नपाए पनि एअरपोर्ट सम्म म एक्लो भैइन । मलाई गाउँका दाइलेहरु पुर्याउन आउनुभएको थियो ।

बिचरा ती दाइहरु । अस्ति भर्खर घर फर्किए । मलेशिया गएको तीन महिमामै घर फर्किनुपर्यो । फर्किन के सजिलै पाएर ? फर्किनकै लागि नजाने कति आँसु बगाय । नजाने कति रात अनिदो बसे ।नजाने कति जना सामु गुहार गरे । नजाने कतिपटक आफ्नै दाँत किटे । उहाँहरुलाई देश झिकाउन मैले पनि मेहनत गरेको थिएँ ।

बिदाइका लागि उहाँहरुले खादा लगाईदिनुभयो । हाम्रो जस्तै उद्दार गर्न ,नपरोस ।राम्रो संग गयस ।राम्ररी बसेस भन्दै एकदुइटा तस्बिर खिचेर उहाँहरु फर्किनुभयो । अब म एक्लो भएँ ।फेरि मन बुझाएँ जना अटाउने यत्रो प्लेनमा म एक्लो कसरि हुन सक्छु ? सबै नेपाली त हाम्रा दाजुभाइ हुन ।

बिमानस्थल कहिले गएको थिएन । प्रकृया पार गर्न गाह्रो हुने, सब सोधेरै गरेँ । वैटिङ रुममा बसेर फेसबूक खोलेँ । फेसबूकमा फेरो त्यही अघि खिचिएको फोटो देखेँ । क्याप्शन शुभयात्रा भान्जा लेखेको थियो । मैले पनि त्यही फोटो तानेँ। सत्य पैशा बाकी सबै भ्रम, लागियो परदेशूक्याप्शन लेखेर पोस्ट गरेँ ।

मेरो पोस्ट देखेर होला तारन्तार फोन आउन थाले । मैले जाँदै छु भनेर धेरैलाई जानकारी गरेको थिइन ।कसैको कल उठाइन । फेसबूक कमेन्ट पनि हेर्न सक्ने अबस्थामा पनि थिएन । सबै शुभचिन्तकलाई पुगेर फोन रिप्लाइ गर्ने मनस्थिती बनाएँ ।

हिड्न लागेको कुरा भन्नुपर्ने जतिलाई भनेको छु जस्तो लागेको थियो । तर बा छुट्नुभएछ । अरु एक दुई जना पनि छुटेछन । साथी दिपेन्द्र र प्रेमिका मनिसा संग झगडा परेको थियो । उनिहरु पनि छुटेछन । प्लेन चढ्नु अघि अर्को फोटो पोस्ट गरेँ । यो पोस्ट प्रेमिकालाई समर्पित गरेको थिएँ । पोस्टको क्याप्शन थियो जिन्दगीमा धेरै साथ र सहयोग गर्दा पनि जिवनभर नभुल्ने पीडा दिएर जाने मेरो प्यारो मान्छेलाइ फोन गर्ना नपाए पनि सम्झेको छु ।

प्रेममा अबरोध आएको थियो । मानौँ एउटै रबर चुडिएर दुइटा भएका छन जस्तो । उ फरक व्यवहार देखाउन थालेकी थिइ । मनै दुख्ने शब्द बोलेकी थिइ । मैले उसलाई जिन्दगिको भिटामिन ठानेँको थिएँ ,उ त क्यान्सर रहिछे । कहिल्यै निको नहुने गरि मनको रोग लगाई ।

प्लेन चढियो अब त फोन अफ । मलेशियाको बिमानस्थल पुगेर फोन खोलेँ । म संग मलेसियाको सिम पहिल्यै थियो । सिम हालेर फोन अन गरेँ ।फेसबूकमा छिरेँ ,धेरै शुभचिन्तकका कमेन्ट र पोस्टहरुमा शुभयात्रा लेखेका सन्देशहरु रहेछन । सबैलाई कमेन्ट रिप्लाई गरेँ।

बा संग अझै कन्ट्याक्ट् हुन सकेन । कसरी गरौँ ? बाले फेसबूक नचलाउने । बा को माया हुरक्कै लागेर आयो । टाढा हुँदा परिवारको याद झन गहिरो हुँदो रहेछ । परिवार ,साथिभाइ ,मेरो जन्मभुमि र मेरा सपनाहरु सम्झिदै रिसिभर पर्खेर बसेँ ।

यहाँको ५ बजे पुगेको मैले ११ बजे सम्म रिसिभरलाई कुर्नुपर्यो । ११ बजे उ आयो । बिमानस्थल बाहिर ल्याएर उसले ट्याक्सी चढायो । चिल्लो सडकमा ट्याक्सी चिप्लिन थाल्यो ।बाटोक एउटा होटलमा खाना खाइयो । मलेसियाको पहिलो गाँस गजब लाग्यो । कम्पनी पुग्न ६ घण्टा लाग्दो रहेछ ।यात्राभर उस्तो रमाइलो नभए पनि त्यति मजा पनि लागेन ।छेउमा भाषा मिल्ने मान्छे भए पो मजा आओस ।

कम्पनीमा पुगेपछि एकजना नेपाली आए । उनले अरु नेपाली भएको रुममा छोडिदिए ।बल्ल म खुशी भएँ । परदेशमा नेपाली देख्दा आफ्नै दाजुभाइ जस्तो लाग्ने । सबै संग घुलमिल भएँ ।

अनि गफ सुरु भो । घुममिल भनेकै एकले अर्कोलाई बुझ्नु त हो । एउटा दाइले कति तिरेर आयौ ? भन्नुभयो । २ लाख ८० हजार नगद खन्खन्ती बुझाएको थिएँ । त्यही भनेँ । क्रमशः कति पढेको छौ ? उमेर कति भयो भनेर सोध्नुभयो ।मैले २० बर्ष भएको र १० कक्षा पढेको बताएँ ।

दाइले मेरो अनुहार हेर्दै बिश्मयको भाव प्रकट गर्नुभयो । अलि हैरानिको स्वरमा भन्नुभयोूयति सानो उमेरमा ,थोरैभए पनि पढेको मान्छे किन आको होला ? हामि त भाग्ने तयारिमा छौँ ।

म झसङ्ग भएँ । ला फसियो भन्ने लाग्यो । त्यत्रो पैसा ऋण काढेर,आमालाई अस्पतालमा छोडेर आइया छ । अरु परदेशमा अलपत्र पर्दा उद्दारको कोसिस गर्थेँ । अब आफ्ना लागि कसलाई भनुँ ? दिमागमा चक्कर लाग्यो, पृथ्बी नाँच्न लाग्यो ,हातगोडा लुथ्रुक्क भए । सम्हालिनु त थियो नै ,नेपालमा मेरो टिम छदै छ,केही गरि अलपत्र परेँ भने जसरी नि असुल गर्न सकिन्छ भन्ने आत्माविश्वास जाग्यो ।

मैले दाइलाई सोधे किन भाग्ने र दाइ ? के छ र यहाँ ? यहाँ कामको कुनै फिक्स छैन । पठाउदा नेपालको सदिक्षा मेनपावर कम्पनिले माछा प्याकिङ भनेर पठाको हो । यहाँ त जे पनि गर्नुपर्छ । कहिले जंगल फडानी गर्न बन कुद्नुपर्छ । कहिले जहाज रंगाउन शिपमा झुन्डिनुपर्छ । कहिले ६०–७० किलोको माछा उठाउनुपर्छ । दाइको यति बृत्तान्तले झन हैरान भएँ ।

गफका कुरा थिए ति। अब कम्पनी भोग्न सुरु भयो ।काम गर्न निस्कियौँ । म पनि सि फुड माछा प्याकिङ भनेरै आएको हो । पहिलो दिन जंगल फाड्ने हतियार भिराएर जंगल पठाइदियो ।

जंगल फडानी त नाम मात्रै रहेछ । त्यहाँ त जुकाको आहारा हुन गएका रहेछौँ हामी । कहाँ कहाँ पसेन जुका ? कति रगत चुस्यो चुस्यो ? बीष लाग्थ्यो भने २० चोटि मरिन्थ्यो होला त्यो टोकाइबाट । अझ सर्पको डर हुन्छ भन्थे साथिहरु । कुनै सर्प आएर शिरमा टोकेको भए के हुँदो होरुमृत्यु घेरामा जीवन कैद भएको थियो । दिउँसो बाह्र बजे कामबाट फर्किएर अर्को काम जानुपर्ने भयो । काम थियो जाल संग समुन्द्रमा फाल्ने बलक बनाउनुपर्यो । लागियो सिमेन्ट र बालुवा संग धमाधम ।

आजभोली काम डुंगाबाट माछा उठाउने । तौलिने र त्यसलाई ट्वाङमा हाल्ने ,प्याक गर्ने काम गर्नुपर्छ । कामको कठोरता भनिसाध्य छैन । बिहान ७ः३० देखि बेलुका ४ः३० सम्म एकछिन रोकिन मिल्दैन । मेसिन बरु बिग्रेरै सहि, रेस्ट पाउछ होला तर परदेशमा मुनुष्यले पाइदैन । नेपाली त झन हेलाँका मुनुष्य । न सम्मान छ,न सजिलो काम छ ।

माछा उठाउदा उठाउदा हात फत्रक्क गल्छन । गह्रौँ भएर पिरो पिडाले तुरुक्क आँसु चुहिन्छ । माछा राखिने पानीमा साएद एसिड हुदो हो । हातका औलाहरु मा हरेक दिन घाउ लाग्छ । औला यसरी नकाम हुन्छन ,मोबाइलको स्क्रीन टच पनि हुदैन । हात टाउको कतै पनि कुनै सेफ्टी छैन ।

मेसिनले बखतमा आइलिङ पाउछ । जति सम्भार र स्याहार मेसिनले पाउँछ,त्यति हामी कामदारले नपाउनु कस्तो अचम्म ? परदेश चट्टान भन्दा कठोर हुदो रहेछ। मृत्यु भन्दा पराइ हुदो रहेछ । फ़ोहोर भन्दा घिनलाग्दो हुदो रहेछ । र राक्षस भन्दा नरभक्षी हुदो रहेछ ।

आउदा आइहालियो । ऋण छ,अब जसोतसो दुई बर्ष कटाएर फर्किनुपर्ला । अनि आफ्नै जन्मभुमिको माटोमा पसिना रोपेर सन्तुष्टि फलाउनुपर्ला भन्ने सोच गरेको छु ।

                                                              चौरजहारी नगरपालिका वडा नं ४ रुकुम पश्चिम,हाल मलेसिया पहाङ


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, विचार/लेख

तपाईको कमेन्ट लेख्नुहोस्