अमानवीय र तुच्छ गालीगलौज गर्नेलाई पार्टीबाट निकाल्ने रविको घोषणा
काठमाडौं । प्राकृतिक विपत्तिमा सर्वस्व गुमाएका बाढी पीडितमाथि सामाजिक सञ्जालमा पोखिएको अमानवीय र तुच्छ गालीगलौजले यतिबेला राजनीति तताएको छ । आफ्नै पार्टीका समर्थकबाट बाढी पीडित महिलाहरू अश्लील र भद्दा टिप्पणीको सिकार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्मै कडा रूपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री बालेन शाहकै उपस्थितिमा लामिछानेले पीडितलाई होच्याउने अन्ध समर्थकलाई पार्टीबाटै निकाल्ने चेतावनी दिँदै सरकारलाई तत्काल एक्सनमा उत्रिन दबाब दिएका छन् । उता, रास्वपाकै सांसदहरूले भने प्रधानमन्त्री र सरकारको कार्यशैलीमाथि संसद्मै तीखा प्रश्न गरेका छन् ।
बाढीमा परेर श्रीमान् र आफन्त बेपत्ता भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा रोइकराई गरिरहेका पीडित महिलाहरू यतिबेला झन् ठूलो अमानवीय अत्याचारको सिकार बनेका छन् । सरकार र नेतृत्वसँग आक्रोश पोखेकै भरमा उनीहरूमाथि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरी तथानाम गालीगलौज भइरहेको छ । यस्तो नीच हर्कत गर्नेहरू सत्तासिन रास्वपा र खासगरी प्रधानमन्त्री बालेन्द्र शाह निकट कार्यकर्ता रहेको गम्भीर आरोप लागेको छ । आफ्नै समर्थकको यो भद्दा हर्कतपछि रास्वपा सभापति रवि लामिछाने संसद्बाटै कडा रूपमा प्रस्तुत भएका छन् ।
प्रधानमन्त्री बालेन शाहकै सामुन्ने संसदको रोष्ट्रममा उभिएर रास्वपालाई यस्ता अन्ध समर्थक नचाहिने भन्दै तुच्छ टिप्पणी गर्नेलाई पार्टीबाटै निकाल्ने चेतावनी सभापति लामिछानेले दिएका छन् । आफूहरू शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहने उनले स्पष्ट पारे । विपत्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान नभएको सभापतिले घोषणा गरेका छन् ।
सभापतिले सरकारलाई पनि विज्ञप्तिमा मात्र सीमित नभई कडा कानुनी कारबाहीमा उत्रिन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सन्जालमार्फत गाली गलौज गर्नेलाई अपराधि घोषणा गरेर कारबाही गर्ने चेतावनी दिएका थिए । उनै प्रधानमन्त्री शाहलाई लक्षित गर्दै लामिछानेले सर्वस्व गुमाएका नागरिकको चित्कार र आक्रोश राज्यप्रतिको अन्तिम गुहार भएकाले त्यसलाई सुनेर आँसु पुछ्ने फराकिलो छाती राज्यसँग हुनुपर्ने बताए । विपत्तिको घडीमा राजनीतिक प्रतिशोध छाडेर राष्ट्रिय एकता कायम गर्नुपर्नेमा लामिछानेको जोड थियो।
प्रतिकूल मौसमका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मीको उच्च कदर गर्दै रसुवा बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति’ घोषणा गर्न र यसको कारण एवं क्षति छानबिनका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव समेत गरेका छन् । सभापतिले मात्र नभए अन्य सांसदहरुले पनि सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टिको अर्को पाटो भने जेनजी आन्दोलन, शहिर र परिवारसँग सम्बन्धित छ ।
मङ्गलबार आयोजित ’जेनजी सहिद स्मृति सभा’ मा बिहान ७ बजेदेखि आग्रह गर्दा पनि प्रधानमन्त्री नआएको र बेलुकी ७ बजे फेसबुकमा एउटा सामान्य स्टाटस मात्रै लेखेको भन्दै जेनजी सहिदकी आमा तथा रास्वपा सांसद रचना खतिवडा खत्रीले संसद्मै भक्कानिँदै आक्रोश पोखेकी हुन् । खतिवडाले जेन्जी आन्दोलन भएको एक वर्ष बित्दा देशले सहिद पाएको र एक दिन सार्वजनिक बिदा दिइएको तर सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको गुनासो गरिन् ।
रास्वपाकै अर्का सांसद मधुकुमार चौलागाईंले जेनजी सहिद स्मृति सभामा विवादित धर्मगुरुहरूलाई मञ्चमा राखिएको भन्दै आफ्नै मन्त्रीहरू गृहमन्त्री सुधन गुरुङ, सोबिता गौतम, महावीर पुन र सुनिल लम्सालको उपस्थितिमाथि कडा आपत्ति जनाए । उनले कार्यक्रममा कसको भूमिका थियो ? विवादास्पद कार्यक्रम आयोजना किन भयो भनेर प्रश्न गरे ।
बाढी पीडितको रोदनमाथि आफ्नै समर्थकको साइबर हमला र आफ्नै सांसदहरूको संसद्मै चर्किएको आक्रोशले प्रधानमन्त्री बालेन शाह र रास्वपा नेतृत्वलाई रक्षात्मक बनाएको छ । केवल भाषण र चेतावनीमा सीमित नभई सरकारले यस्ता अमानवीय कार्य गर्नेहरूमाथि कडा कानुनी डन्डा चलाउँछ कि चलाउँदैन, त्यसैमा सरकारको संवेदनशीलता र परिपक्वता परीक्षण हुनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै होः राधिका शाक्य
- २देशभर ग्यासको हाहाकार, उद्योगमन्त्री नै अलमलमा, ब्यवसायीको लुट
- ३२०८२ साल भदौ २४ गते देशमा विध्वंश भएको दिन, के के भएको थियो टाइमलाइन
- ४अमानवीय र तुच्छ गालीगलौज गर्नेलाई पार्टीबाट निकाल्ने रविको घोषणा
- ५सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्