Techie IT
  • २९ जेठ २०८३, शुक्रबार
KhojPatrika

जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन


काठमाडौं । गत बर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदहरूको जीवन, संघर्ष र बलिदानलाई समेटेर तयार पारिएको पुस्तक ‘अधुरा सपना ९जेनजी आन्दोलनः विद्रोह, बलिदान र सुशासन, ४५ बलिदानीका कथा०’ बिहीबार काठमाडौँमा विमोचन गरिएको छ । रुद्र खड्का र रतन चन्दद्वारा लिखित उक्त पुस्तकको विमोचन कार्यक्रममा साहित्यकार, पत्रकार, राजनीतिककर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले पुस्तकले जेनजी आन्दोलनको इतिहासलाई अभिलेखीकरण गर्दै लोकतन्त्र, सुशासन र नागरिक अधिकारका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको योगदानलाई भावी पुस्तासम्म पु¥याउने महत्वपूर्ण कार्य गरेको बताएका थिए । पुस्तकका लेखक रुद्र खड्काले जेनजी आन्दोलन नेपालको समकालीन इतिहासको महत्वपूर्ण अध्याय भएको उल्लेख गर्दै पुस्तकले आन्दोलनका घटनाक्रम, त्यसको पृष्ठभूमि र आन्दोलनमा जीवन गुमाएका शहीदहरूको जीवनकथालाई समेटेको बताए ।

उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनबारे भावी पुस्ताले यथार्थ जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । ‘यो पुस्तक केवल घटनाको विवरण मात्र होइन, परिवर्तनका लागि संघर्ष गर्ने युवाहरूको सपना, साहस र बलिदानको दस्ताबेज हो,’ उनले भने, ‘आन्दोलनमा ज्यान गुमाउने शहीदहरूलाई पुस्तकमार्फत न्याय गर्ने प्रयास गरिएको छ ।’ कार्यक्रममा सहभागी युनाइटेड नेप्लिज एसोसिएसन टेक्सास, अमेरिकाका अध्यक्ष पासाङ लामाले पुस्तक प्रकाशनको अभियानसँग जोडिन पाउँदा गर्व महसुस भएको बताए ।

उनले जेनजी आन्दोलनका शहीदहरूको स्मृतिलाई संस्थागत गर्न र उनीहरूको योगदानलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसम्म पु¥याउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अर्का लेखक रतन चन्दले सीमित समय र चुनौतीपूर्ण परिस्थितिका बीच पुस्तक प्रकाशन गर्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदका परिवार, आफन्त र सहकर्मीहरूसँग संवाद गरेर सामग्री संकलन गरिएको जानकारी दिए ।

वक्ताहरूले जेनजी आन्दोलनले नेपाली समाजमा सुशासन, जवाफदेहिता र नागरिक अधिकारको पक्षमा नयाँ बहस सिर्जना गरेको उल्लेख गर्दै आन्दोलनका शहीदहरूको योगदानलाई राज्य र समाजले दीर्घकालसम्म स्मरण गर्नुपर्ने धारणा राखेका थिए । पुस्तकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदहरूको जीवनी, उनीहरूका सपना, परिवारको पीडा, आन्दोलनको पृष्ठभूमि तथा त्यसले समाजमा पारेको प्रभावलाई समेटिएको छ ।

पुस्तकले इतिहासका महत्वपूर्ण घटनालाई दस्ताबेजीकरण गर्दै बलिदानीहरूको सम्झनालाई जीवित राख्ने प्रयास गरेको छ । सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशिका तामाङ, शहीद परिवारका तर्फबाट गणेश चौलागाई, नारायण श्रेष्ठ, अशलेसा लुइँटेल, कृष्ण थापालगायतले बोलेका थिए भने पुस्तकको समीक्षा लेखक तथा साहित्यकार प्रकाश सायमीले गरेका थिए । वक्ताहरूले पुस्तक ऐतिहासिक रहेको धारणा राखेका थिए ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं