राहदानी विभागले भन्यो–अन्तरिम अवधिमा सेवा प्रभावित हुन सक्छ
काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ राहदानी प्रणाली, राहदानी पुस्तिका तथा आवश्यक पूर्वतयारी पूरा गरिसकेको जानकारी दिएको छ ।
हाल सञ्चालनमा रहेको प्रणालीलाई आगामी एक–दुई महिनाभित्र नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ। यस क्रममा प्रणाली स्थिरीकरण नभएसम्म अन्तरिम अवस्थाका कारण केही समयका लागि राहदानी सेवा प्रभावित हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
बिहीबार जारी गरिएको सूचना अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ । त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा करिब एक हप्तासम्म बन्द हुन सक्ने जनाइएको छ ।
नयाँ प्रणाली कार्यान्वयनपछि पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने भएकाले उक्त अवधिमा जिल्ला–इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ ।
यस परिस्थितिलाई मध्यनजर गर्दै आगामी ६ महिनाभित्र (२०८३ असोजभित्र) राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन विभागले आग्रह गरेको छ ।
नयाँ प्रणाली लागू हुने मिति तथा अन्तरिम अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने राहदानी विभागले जनाएको छ ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्