Techie IT
  • २० कात्तिक २०८१, मंगलबार
KhojPatrika

सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई कानुनी दायरामा ल्याउन सरकार असफल देखिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई तथ्य र प्रमाणले दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिसकेको छ । यति हुँदापनि लामिछाने कारबाहीको दायरामा नआइ, खुलमखुल्ला हिँडिरहेका छन् । सरकारलाई चुनौति दिदैं हिडेपनि रविबारे सरकारले कुनै मुख खोलेको छैन् । जवकी सोही मुद्दामा मुछिएका छविलाल जोशी यतिबेला प्रहरी हिरासतमा छन् । एउटै प्रकरण र एउटै मुद्दामा कसैलाई जोगाउने त कसैलाई सिध्याउने यो नीति अनौठो देखिएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दसैँसम्ममा कानुनी कठघरामा आउँछन् भन्नेमा कुनै दुविधा थिएन । दसैँ, तिहार मामा घरमै मनाउनेगरी लामिछानेलाई कानुनी दायरामा ल्याउने गृहकार्य भइरहेको थियो । लामिछानेका सहकर्मी सोही मुद्दामा कानुनी कठघरामा आएपछि त्यसले नै समस्या सिर्जना गरेको थियो । यही नै लामिछानेका लागि हतियार बन्यो । जोशी पक्राउ परेपछि आफू पनि डामिने डरले सो दिन लामिछानेले पार्टी कार्यालयमै भीड जम्मा गरे । लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरीको टोली रित्तै फर्किन बाध्य भयो । तर, उनी र उनका कार्यकर्ताहरु निर्दोष भएपछि कसैले हल्लाउन नसक्ने भन्दै झ्याली पिट्दै हिँडिरहेका छन् ।

भीडले हस्तक्षेप नगरेको भए उनी सोही दिन नै कारबाहीको दायरामा आउने थिए । त्यो सम्भव भएन । सरकारले त्यतिबेला संयमता अपनाएकै हो । भीड मत्थर भएपछि अर्थात् दसैँसम्म लामिछाने पक्राउ पर्ने धेरैको आशंका थियो । यो संकेत लामिछाने आफैंले गरिसकेका थिए । तर, अहिलेसम्म सरकारले लामिछानेबारे देखिनेगरी कुनै कदम अघि बढाएको छैन । एकै प्रकृतिको ठगी र मुद्दा खेपिरहेका कोही जेल जाने कोही खुलमखुल्ला हिँड्नुपर्ने नियति नेपालका लागि कुनै नौलो विषय होइन ।

विगतदेखि नै यस्तै खालका गतिविधि हावी हुँदै आइरहेका छन् । नयाँ पार्टी, नयाँ अनुहार नयाँ विचारका साथ राजनीतिमा आएका लामिछानेले पनि त्यही छनक देखाए । तथ्य र प्रमाणका आधारमा लामिछानेले सहकारीको रकम दुरुपयोग गरेका छन् । छानबिन विशेष समितिले उनलाई दोषी देखाउँदै कारबाहीका लागि समेत सिफारिस गरिसकेको छ । उनी आफैंले यो विषय स्विकार गरिसकेका छन् ।

फेरि उनी कानुनी कठघरामा उभिन भने डराइरहेको जस्तो देखिन्छ । यदि त्यसो नभएको भए उनले कानुनी प्रक्रियालाई सहजीकरण गर्नुपर्ने थियो । त्यसो नभएर उनी भीडको सहारा लिएर उम्किन खोजिरहेका छन् । यी सबै घटनाक्रमबाट उनको दोहोरो चरित्र छताछुल्ल भएको छ । अर्कोतर्फ सहकारीको मुद्दा जोडतोडका साथ उठान गरेका रमेश लेखक, गगन थापा र विश्वप्रकाश शर्माहरु यतिबेला चुपचाप छन् । कतिसम्म भने यो मुद्दालाई जोडतोडका साथ अघि बढाएका रमेश लेखक बहालवाला गृहमन्त्री हुन् ।

उनले पीडितलाई न्याय दिनेगरी काम अघि बढाएको भए नतिजा आइसकेको हुन्थ्यो । यतिबेला सबै चुपचाप र गुमनाम छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट वाहवाही पाएका महामन्त्री गगन थापा अब यो विषयमा पूर्ववत अडानमै छन् कि उनको अडान फेरियो कुनै अत्तोपत्तो छैन ।

दुई तिहाईको सरकारको हैसियत कति रहेछ भन्ने कुरा लामिछानेले देखाइदिएका छन् । प्रधानमन्त्री ओली अमेरिकामा भएका बेला यता पक्राउ गर्न खोजेपछि रवि लामिछानेले नेपालमा फर्किन र कुरा गर्न आफूले रुम मिलाउने बताएका थिए । प्रधानमन्त्री फर्किएपछि रुम मिल्यो कि मिलेन, कुरा भयो कि भएन त्यो बाहिर आएको छैन् । तर, रवि पक्राउ गर्न प्रधानमन्त्री ओली कुरिरहेका गृहमन्त्री लेखक अहिलेसम्म किन चुपचाप छन् भन्ने प्रश्न उब्जिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दायरामा ल्याउन सरकार, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्