Techie IT
  • २० असोज २०८१, आईतबार
KhojPatrika

वायुसेवा कम्पनीको लुट धन्दा, सडक अवरुद्ध हुँदा हवाई भाडामा दोब्बरले वृद्धि !


काठमाडौं । यो मुलुकमा जसले जस्तो लुट मच्चाएपनि छुट पाउनुपर्ने अवस्था छ । लुटले नागरिकलाई सास्ती दिएको राज्यले देख्दैन । तर, नागरिककै पक्षमा नानाथरि विज्ञप्तिहरु निकाल्ने गर्छ । अहिले ठयाक्कै यही भएको छ । प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहतको सट्टा सरकारले आहात दिइरहेको छ । बाढी, पहिरोले चौतर्फी रुपमा सडक अवरुद्ध भएपछि आकाशको यात्रा धान्नै नसक्नेगरी महँगो बनाइएको छ ।

विपद्का बेला राजमार्ग बन्द रहँदा यात्रु अफ्टयारो परेको फाइदा उठाउँदै वायुसेवा सञ्चालकले लुटको धन्दा चलाउँदै दोब्बर मूल्यमा टिकट विक्री गरे । जसले नागरिकलाई निकै सास्ती दियो । मानवीय संवेदना नै नभएका मानिस कस्ता हुन्छन् होला ? वायुसेवा कम्पनीका मालिहरुले यसको वास्तविक रुप देखाइदिएका छन् । प्राकृतिक विपत्तिले उग्र रुप लिइरहेका बेला मानवीय संवेदनामाथि नै खेल्ने प्रयास गरे ।

देशैभर विपत्तिले आहात बनाइरहेका बेला उनीहरुले यही मौकामा चौका दाउ हाने । प्रकृतिले नराम्रोसँग ठगेका बेला उनीहरुले हवाई भाडा दोब्बर बनाएर ठग्नुसम्म ठगे । उनीहरु नागरिकलाई सस्तो र सर्वसुलभ सेवा दिन नभइ लुटधन्दा मच्चाउन बसेका रहेछन् भन्ने पुष्टि भएको छ ।

उडान सुरक्षा उनीहरुको प्रतिवद्धता नै छ । तर, नागरिकको अवस्थाले धान्नै नसक्नेगरी उडानलाई प्रभावित बनाइरहेका छन् । दसैँ, तिहारजस्ता ठूला चाडपर्व उनीहरुका लागि कमाउधन्दा नै बन्ने गरेका छन् । यो समयमा सडक अवरुद्ध हुने भएपछि उनीहरुको भाग्य नै खुल्ने गरेको छ । त्यसकै फाइदा उठाउन उनीहरुले हवाई भाडामा उच्च वृद्धि गर्ने गरका छन् ।

अहिले देशभर प्राकृतिक विपत्तिले दुख दिइरहेका बेला उनीहरुले मानवीयताको अलिकति पनि लक्षण देखाएनन् । बरु आफ्नो खल्ती बलियो बनाउनेतिर लागे । यसको व्यापक विरोध र आलोचना भएपछि वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने दाबी ग¥यो ।

असोज १६ गतेसम्म सरकारले तोकेबमोजिम लिँदै आएको अधिकतम मूल्यको भाडादरमा टिकट नबेच्ने संघको निर्णय छ । तर, यो अवधिमा अत्यावश्यक अवस्थामा भएका नागरिकले बाध्यतावश यात्रा गरे । त्यसको जिम्मा कसले लिने ? प्राकृतिक विपत्तिले उग्र रुप लिएपछि जहाजका दुईदेखि तीन दिनको टिकट अग्रिम बुकिङ भइसकेको छ । यो अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै उपभोक्तालाई झुक्काइरहेको छ ।

अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेबसाइटहरूमा पनि असोज १६ गतेसम्मका कुनै पनि टिकट उपलब्ध छैनन् । यो विषयमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले खाली निर्देशन दिएको झुटा आश्वासन बाँडिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा अझ सहुलियत मूल्यमा भाडा लिएर सहयोग गर्न आग्रह गरे । तर, उनको यो आश्वासन केवल झुटो सावित भएको छ । अर्कोतर्फ संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालयमार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको झूटो प्रचार गराए । सरकारको यो झुटै, झुटको प्रचारले नागरिक मारमा परेका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #वायुसेवा सञ्चालक

तपाईको कमेन्ट लेख्नुहोस्