Techie IT
  • २० असोज २०८१, आईतबार
KhojPatrika

सहकारी ठगीमा एमालेले रविलाई जोगाउन खोजेको अजयबाबु शिवाकोटीको आरोप


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेलाई एमालेले जोगाउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन तनहुँले आइतबार आयोजना गरेको कार्यक्रममा नेता शिवाकोटीले महान्यायाधीवक्ताको कार्यालयले जुन किसिमले निर्णय सहकारीसँग भएर गरेको छ त्यसले आशंकाको वातावरण बनाएको भन्दै त्यो मान्य नहुने बताएका हुन् ।

उनले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालमा नरहेका अवस्थामा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई समेत थाहा नदिइ चालिएको कदम ससंकित रहेको दाबी गरे । उनले भने, ‘खासगरी सत्तारुढ गठबन्धनको नेतृत्वलाई पनि त्यसबारे जानकारी छैन । सरकारको नेतृत्व गरेका कार्यबाहक प्रधानमन्त्रीलाई पनि यसको जानकारी छैन । गृहमन्त्रीलाई पनि यसको बारेमा महान्यायाधीवक्ताले निर्णय गरेको जानकारी गराउन नआइसकेको अवस्थामा यो निर्णय किन आयो कसरी आयो भन्ने बारेमा नेपाली कांग्रेस गम्भीर भएर आफ्नो धारणा बनाउनु पर्ने स्थिति बनेको छ ।’

उनले नेपाली कांग्रेसले यो विषयलाई गम्भीरपूर्वक लिएको विश्वास लिएको बताउँदै भने, ‘कतै न कतै कुनै व्यक्तिप्रति सफ्ट कर्नर बनाउन खोजेको हो कि । खासगरी अहिले सहकारी प्रकरणमा जोडिएका रवि लामिछानेलाई कतै न कतै सफ्ट कर्नर गर्नका लागि त महान्यायाधीवक्ताको कार्यालयका तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले यो निर्णय लिएर आएका छन् यसले लामिछाने सहितका केही मान्छेहरुलाई जोगाउने नियतले आइराखेको त छैन भन्ने विषयमा नेपाली कांग्रेस निकै गम्भीर भएको छ ।’ उनले अमेरिकामा रहेका प्रधानमन्त्री ओली नेपालमा आउन बित्तिकै कांग्रेसले धारणा बुझ्नु पर्ने बताएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अजयबाबु शिवाकोटी, #एमालेले जोगाउन

तपाईको कमेन्ट लेख्नुहोस्