Techie IT
  • २० असोज २०८१, आईतबार
KhojPatrika

सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा


काठमाडौं । सहकारी छानबिन विशेष समितिले सरकारलाई बुझाएको प्रतिवेदनबारे अन्योल र आशंकाहरु पैदा भएका छन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले यसको अपव्याख्या गरिरहेका छन् । प्रतिवेदन अनुसार पार्टी सभापति रवि लामिछाने लगायतलाई दोषी देखाउँदै कारबाहीको सिफारिस गरिएको छ । तर, लामिछानेसहित रास्वपाका नेता, कार्यकर्ताहरु लामिछानेले न्याय पाएको भन्दै विजय उत्सव मनाइरहेका छन् ।

सहकारी प्रकरणमा रवि लामिछाने मुछिएको दर्जनौं तथ्य र प्रमाणहरु सार्वजनिक भइरहेका छन् । कतिसम्म भने सहकारीमा देखिएका विकृतिको विषयमा गठित छानबिन विशेष समितिले समेत लामिछानेलाई दोषी किटान गरेर कारबाहीका लागि सिफारिस गरिसकेको छ । यति हुँदापनि लामिछाने र उनका केही कार्यकर्ताहरु उनले न्याय पाएको दाबी गरिरहेका छन् । लामिछानेलाई समितिले ‘क्लिन चिट’ दिएको भन्दै रास्वपा वृत्तमा खुसियाली नै छाएको छ ।

प्रतिवेदनका अनुसार लामिछाने सहकारी रकम अपचलनमा दोषी देखिएका छन् । उनी लगायतलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सिफारिस गर्दासमेत त्यसको अपव्याख्या भइरहेको छ । गोर्खा मिडिया नेटवर्कमा निकै ठूलो परिमाणमा रकम गएको प्रष्ट छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको ६५ करोड रकममा रविसहित गोर्खा मिडियाको रजगज चलेको देखिन्छ ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न लामिछानेसहित जीबी राई, छविलाल जोशी र कुमार रम्तेल लगायतलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ–‘निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ यति विषय सार्वजनिक हुँदापनि लामिछाने आफूलाई आफैंले क्लिनचिट दिइरहेका छन् ।

रकम गोर्खा मिडियाको खातामा भएको पैसा खर्च गरेको लामिछाने आफैंले स्विकार गरिसकेका छन् । यो प्रक्रियामा संलग्न सबैलाई कारबाहीका लागि समितिले सिफारिस गरेको छ । सरकारले यो प्रतिवेदनलाई गम्भीरताका साथ लिएर काम, कारबाही अघि बढायो भने लामिछाने प्रचलित कानुनअनुसार सजायको भागिदार छन् । यही प्रकरणमा आक्रामक रुपमा देखिएका गृहमन्त्री रमेश लेखक कसरी अघि बढ्छन् ? उनीमाथि चुनौती थपिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गोर्खा मिडिया नेटवर्क, #रवि लामिछाने, #सहकारी छानबिन विशेष, #स्वतन्त्र पार्टी

तपाईको कमेन्ट लेख्नुहोस्