रास्वपाबाट डा.मुकुल ढकाल बर्खास्त,रविको क्लवबाट निष्कासित भएको मुकुलको प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकले उनलाई कारबाही गर्ने निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।
अब उनी पार्टीको साधारण सदस्य मात्र रहने भएका छन् । ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् । महामन्त्री बर्खास्त लगत्तै नयाँ महामन्त्री चयन गर्ने तयारी थियो । तर, बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएका थिए ।
रास्वपाको विधानमा कारबाहीमा पुरावेदनसम्बन्धी व्यवस्था छ । यसका लागि पुनरावेदन समिति बनाइएको छ । कति दिनसम्म पुनरावेदन गर्न पाउने भन्ने विधानमा व्यवस्था छैन । तर, आजको बैठकले ३५ दिन समय दिने निर्णय गरिएको छ । महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ ।
यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेको थियो । अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्नेछन ।
रवि लामिछानेको क्लवबाट निष्कासित भएको हुँः मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।
ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि….
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ढकाललाई पदबाट बर्खास्त, #महामन्त्री डा. मुकुल ढकाल
तपाईको कमेन्ट लेख्नुहोस्