Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

सञ्चारसम्बन्धी विधेयक श्रमजीवी पत्रकार मैत्री बनाउन सुझाव


काठमाडौं । सरकारले ल्याउन लागेको सञ्चार सम्बन्धी विधेयक श्रमजीवी पत्रकार मैत्री बनाउन सुझाव दिइएको छ । काठमाडौंमा आइतबार नेपाल प्रेस युनियनको कानुन विभागले आयोजना गरेको सञ्चारसम्बन्धी विधेयकहरूमाथिको छलफलमा सहभागीहरूले श्रमजीवी पत्रकारलाई मध्यनजर गर्दै नेपाल मिडिया काउन्सिल विधेयक र राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयक ल्याउन सुझाव दिइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले सरकारले ल्याउन लागेको सञ्चारसम्बन्धी विधेयक श्रमजीवी पत्रकार मैत्री भयो भने मात्रै सार्थकता पाउने बताए । उनले सरकारले ल्याउन लागेको विधेयकमा गरिएको व्यवस्थाले पत्रकारकै हकहित र संरक्षण गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले विधेयकहरूले पत्रकारलाई समस्या पार्ने खालको नभई लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतालाई मध्यनजर गर्दै आउनुपर्ने उल्लेख गरे ।

त्यस्तै छलफलमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले मिडिया काउन्सिलको अध्यक्षको उमेर हद तोक्न नहुने उल्लेख गरे । उनले अध्यक्षमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश नै राख्नुपर्ने बताए । तर, पत्रकार महासङ्घको अध्यक्ष सदस्य बस्न भने नहुने उनको भनाई थियो ।

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोखरेलले पत्रकारहरूको हितलाई मध्यनजर गर्दै विधेयकहरू बनाइनुपर्ने बताए । नेपाल प्रेस युनियनकी सल्लाहकार अनिता विन्दुले मिडिया काउन्सिल गठन गर्दा समावेशितालाई समेत ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन ।

त्यस्तै, कार्यक्रममा लोकतान्त्रिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष सीताराम केसीले मिडिया काउन्सिल विधेयक र राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयक पत्रकार मैत्री हुनुपर्नेमा जोड दिए । कानुन निर्माणको चरणमा अन्य ऐनहरूलाई समेत मध्यनजर गर्दै छलफल गर्नुपर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले तीनै तहका सरकारले पनि सञ्चार माध्यम सञ्चालन गर्न थाले भने समस्या हुने भन्दै त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले कानुनहरू बनाउँदा सबै पक्षलाई ध्यानमा राखेर बनाउनु पर्नेमा जोड दिँदै जनमैत्री कानुन निर्माणका लागि युनियनले प्रदेश स्तरमा पनि छलफल चलाउने जानकारी दिए ।

उपाध्यक्ष एवं कानुन विभागका संयोजक डा. मुरारी अधिकारीले विषयवस्तुहरुको गाम्भीर्यतालाई लिएर नै प्रेस युनियनले यो छलफल गरेको बताउँदै आउँदा दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उपाध्यक्ष जीवन भण्डारीले सञ्चार मन्त्रालयले सुझाव मागेका विधेयकहरूका बारेमा प्रस्तुति दिएका थिए भने महासचिव दिलीप पौडेलले कार्यक्रमबारे प्रकाश पारेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कानुन विभाग, #नेपाल प्रेस युनियन, #सञ्चार सम्बन्धी बिद्येयक

तपाईको कमेन्ट लेख्नुहोस्