Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

एक बर्षमा सरकार असफल नभएको प्रधानमन्त्री प्रचण्डको जिकिर

आफ्नो हुटहुटी अनुसारको काम गर्न नसकेको स्वीकार !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले हिनतावोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाहेको जस्तो काम गर्न नसकेको स्वीकार गरे । अव जनताले चाहे जसरी सबै काम उच्च प्राथमिताका साथ गर्ने उनले दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार असफल नभएको जिकिर गरेका छन् । एक वर्षे कार्यकाल पूरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो हुटहुटी अनुसारको परिणाम निकाल्न नसकेको स्वीकार गर्दै अब सरकारको कार्यशैली बदल्ने घोषणा पनि गरे ।

यो एक बर्ष केन्द्रदेखि जिल्ला र गाउँ टोलमा विभिन्न कार्यक्रम उद्घाटन गर्न पुगेका उनले केही पूर्व निर्धारित र अपरिहार्य बाहेक बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने पनि दाबी गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ ले मन्त्रीहरुलाई असफल हुन छुट नभएको बताए । आफूले पनि कार्यशैली बदल्ने बताएका उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसक्ने चेतावनी दिए । बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको प्रचण्डको दाबी छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले हाइ प्रोफाइलहरुलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरे । सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको दाबी गरे । लोकतन्त्रको सर्बिसिङ र सुद्धिकरण भएपछि जनतामा विश्वास बढेको उनको भनाई छ । उनले देश अहिले ठूलो आर्थिक संभावनाको नजिक रहेको दाबी गर्दै जलविद्युत निर्यातका कारण यो अवस्था बन्दै गएको दाबी गरे ।

एक वर्षको अवधिमा ५४१ मेगावाट बिजुली उत्पादन थपिएको भन्दै प्रचण्डले आफू भने सन्तुष्ट नभएको बताए । सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने दाबी गरेका प्रधानमन्त्री प्रचण्डले देशमा केही पनि भएको छैन् भन्दै नकरात्मकता सिर्जना गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब एआई जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको बताए ।

‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिंदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको जानकारी दिए ।

अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने बताएका प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको वक्यौता रकम भुक्तानी हुने दाबी गरे । जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने समेत उल्लेख गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्डले नेपाली समाज, #सरकार बनेको एक वर्ष

तपाईको कमेन्ट लेख्नुहोस्