Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

दलहरुले सहमति नगरेपछि सभामुखले नै तोकिदिए संसदीय समितिका सभापतिको निर्वाचन मिति


काठमाडौं । पटक–पटक ताकेदा गर्दा समेत दलहरुले सहमति नगरेपछि संसदीय समितिको नेतृत्व निर्वाचनबाट हुने भएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि सभामुख देवराज घिमिरेले पटक–पटक दलहरूलाई आग्रह गर्दै आएका थिए । सभामुखले नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेको समय निर्धारण गरेका हुन् ।

बिहीबार भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । यसको निम्ति आजै सूचना प्रकाशित हुने उनले बताए ।

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, एमाले सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो। वैशाख दोस्रो साता समिति गठन भएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #समितिको नेतृत्व, #संसदीय समितिको नेतृत्व, #सहमतिबाटै नेतृत्व

तपाईको कमेन्ट लेख्नुहोस्