Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

‘वागनर समूहद्धारा रुसकै दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्र नियन्त्रणमा,तनावमा पुटिन


काठमाडौं । रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । वागनर समूह रूसकै निजी सैन्य संस्था हो । रूस–युक्रेन युद्धमा रुसका पक्षबाट युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको हो । प्रमुख प्रिगोजिनले रोस्तोव सहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् ।

उनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका छन् । उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी समेत गरेका छन् । प्रिगोजिनले आफूलाई रोक्न खोज्ने जो–कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ ।

स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन आग्रह गरेका छन् । प्रिगोजिनले भने रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए । शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाएका छन् । आफ्ना सैनिकमाथि आक्रमण गरेको भन्दै प्रिगोजिनले रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

रोयटर्सका अनुसार वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको छ । मस्कोमा सबै सामाजिक कार्यक्रम पनि रद्द गरिएका छन् । यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जानकारी लिएको बताइएको छ । जानकारी लिएसँगै उनले टेलिभिजनमार्फत सम्बोधन समेत गरेका छन् । पुटिनले सम्बोधन गर्दै वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनी समेत दिएका छन् । उनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेजस्तै रहेको बताएका हुन् ।

त्यस्तै रूसी सेनालाई उक्त समूहविरूद्ध पनि युद्ध सुरू गर्न आवश्यक निर्देशन दिइसकेको उनले बताएका छन् । उनले केही रुसी नागरिकलाई आपराधिक गतिविधिमा संलग्न गराउन उक्साइएको आरोप समेत लगाएका छन् । पुटिनले रुसको भविष्य खतरामा रहेको पनि बताए । आफ्नो सम्बोधनमा वाग्नर समूहका मालिक येभगेनी प्रिगोजिनको नाम नलिई उनले केही व्यक्तिहरूको उच्च महत्वाकांक्षाले ठूलो धोका दिएको जिकिर गरे ।

रुसी समाजलाई विभाजित गर्न खोज्नेलाई कारबाही गरिने पनि रुसी राष्ट्रपतिले चेतावनी दिएका छन् । रुसको स्थानीय समाचार एजेन्सी फोन्टान्काका अनुसार सेन्ट पिटर्सबर्गमा रहेको वाग्नर समूहको कार्यालयमा छापा मारिएको छ । रिपोर्टका अनुसार दंगा प्रहरी, नेशनल गार्डका दुईवटा बस कार्यालयबाहिर पुगेका छन् ।

समाचार एजेन्सीका अनुसार मास्क लगाएका र स्वचालित राइफलसहित सशस्त्र व्यक्तिहरू सेन्ट पिटर्सबर्गको ब्लागोभेसचेन्स्की ब्रिज नजिकै वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग जोडिएको होटल र रेस्टुरेन्टको घरमा तैनाथ थिए । येभगेनी प्रिगोजिनले २०१४ मा वाग्नर समूह स्थापना गरेका थिए । उनले यो समूह रुसी जनताको सुरक्षाका लागि सिर्जना गरिएको दाबी गरेका थिए । उनले आफ्नो कम्पनीलाई ’रूसको स्तम्भ’ भनेर वर्णनसमेत गरेका थिए । यससँगै रुस आन्तरिक द्वन्द्वमा फसेपछि यता युक्रेनले भने खुशीयाली मनाएको छ ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #तनावमा पुटिन, #वागनर समूह

तपाईको कमेन्ट लेख्नुहोस्