पीसीएल नर्सिङका ७३ कलेज बन्द, करोडौँ लगानी जोखिममा !

काठमाडौं । चिकित्सा शिक्षा ऐनका कारण कोशी प्रदेशमा ४, मधेशमा ६, बाग्मतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा एक वटा गरी पीसीएल तहको नर्सिङ अध्ययन अध्यापन गराउने ७३ वटा कलेज बन्द भएका छन् । कलेजको आफ्नै अस्पताल नभएका स्नातक तहका देशभरका १८ वटा कलेजका बीएस्सी नर्सिङ र बीएन कार्यक्रमसमेत बन्द भएका हुन् ।
चिकित्सा शिक्षा सुधारका अभियन्ताका रुपमा स्थापित डा.गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न सरकारले संसदबाट २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी गरायो । त्यसपछि नियमावली जारी भएर ऐन कार्यान्वयन हुँदा त्यसको साइड इफेक्ट निजी क्षेत्रको अर्बौं लगानी, रोजागारी, विद्यार्थीको छात्रवृत्तिदेखि विभिन्न पक्षमा देखिएको छ । तीन वर्ष अघिसम्म ५० शय्याको अस्पताल भएका तथा प्रयोगात्मकको लागि अन्य अस्पतालसँग सम्झौता गरेका नर्सिङ कलेजहरुले तीन वर्षे डिप्लोमा अर्थात पीसीएल नर्सिङ पढाउन पाउँथे । सीटीईभीटीबाट सम्बन्धन लिएर पीसीएल नर्सिङ पढाइरहेका कलेजहरु चिकित्सा शिक्षा ऐनको त्रुटिपूर्ण कार्यविधिले बन्द हुने अवस्थामा पुगेका छन् ।
चिकित्सा शिक्षा ऐनले प्रवीणता प्रमाणपत्र (पीसीएल) नर्सिङलाई छोएको छैन । तर, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीइभीटी)ले सोही ऐनको गलत व्याख्या गरेर नर्सिङ कक्षाको भर्ना रोक्दा ७३ वटा नर्सिङ कलेज करिब बन्द हुने अवस्थामा छन् । नेपालमा पीसीएल नर्सिङ र प्रि–डिप्लोमा तहको पढाइ हुने कलेज बन्द हुँदा विद्यार्थीसँगै ठूलो रकम पनि बाहिरिएको छ । बन्द भएका ७३ वटा कलेज चलेको भए दुई हजार ९२० जना विद्यार्थीले स्वदेशमै अध्ययन गर्थे । तर, उनीहरु विदेशिँदा एक अर्ब ३८ करोड ७० लाख रुपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ ।
सीटीईभीटीले एक जना विद्यार्थी बराबर पीसीएल नर्सिङ पढ्न खान र बस्नबाहेक ४ लाख ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । यस्तै, ९ हजार ३९० सीटको प्रि–डिप्लोमा तहको पढाइ बन्द हुँदा एक विद्यार्थी बराबर एक लाख २५ हजारका दरले एक अर्ब १७ करोड ३७ लाख ५० हजार रुपैयाँ बाहिर गएको देखिन्छ । स्नातक तहको बीएस्सी नर्सिङ र ब्याचलर अफ नर्सिङलगायतका विषयको पढाइ बन्द हुँदा विद्यार्थीहरु भारत पढ्न जान बाध्य भएका छन् । जसबाट विद्यार्थीसँगै ३० करोड ७८ लाख रुपैयाँ बाहिरिने देखिन्छ ।
नेपालका नर्सिङ कलेजहरु धमाधम बन्द हुन थालेपछि नेपालको सीमावर्ती भारतीय शहरहरुका कलेजहरु नेपाली विद्यार्थीको लागि ढोक्सा थापेर बसेका छन् । नेपालको सीमा क्षेत्रमा नेपाली विद्यार्थीलाई लक्षित गरी नर्सिङ कलेज खुलेका छन् । नेपालमा ७३ वटा नर्सिङ कलेज बन्द हुँदा नेपाल सीमावर्ती भारतीय शहरहरुमा १६३ वटा नर्सिङ कलेज खुलेको पाइएको छ । भारतसँगै विदेशका विभिन्न कलेजमा पुगेर नर्सिङ शिक्षा लिनुपर्दा बाध्यतामा नेपाली विद्यार्थी पर्दा पढाई खर्चसँगै राज्यबाट ठूलो धनरासी बाहिरिने देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चिकित्सा शिक्षा ऐन, #डा.गोविन्द केसी
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्