नक्कली शरणार्थी प्रकरणले राजनीतिमा हलचल, एमाले सचिव रायमाझी बाटोबाटै गायव !

काठमाडौं । झापा, मोरङ, सुनसरी, दाङ, गोरखा लगायतका जिल्लाका नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा राज्य संयन्त्र नै प्रयोग भएको रहश्य बाहिरिएको छ । तत्कालिन गृहमन्त्री, तीन गृहसचिव, गृहमन्त्रीका सल्लाहकार, तत्कालिन उर्जा मन्त्रीदेखी मन्त्रीका नातेदार समेत जोडिएको करोडौँ घोटालाको यो प्रकरणले यतिबेला उच्च प्रशासकदेखी राजनीतिक नेतृत्वसम्मलाई तरंगित बनाएको छ । रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला अर्थात २०७७ देखि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने नाममा संगठित रुपमा ठगी अभियान चलाइएको थियो ।
अमेरिका पुग्ने योजना तुहिएपछि पैसा बुझाएका पीडितले आफूहरुमाथी ठगि भएको भन्दै प्रहरीमा उजूरी दिए । पीडितको उजूरीका आधारमा घटनाका मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परे । पहिलो चरणमा पक्राउको बयानका आधारमा केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए । पक्राउ पर्ने क्रमसँगै भीआईपी कनेक्सनको पोल खुल्दै गयो ।
आरोपितको बयान र प्राप्त प्रमाणका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्वसम्मको संलग्नताको पोल खुल्ने र पक्राउ पर्ने क्रम अहिलेसम्म पनि जारी छ । यहि सिलसिलामा प्रहरीले वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको छ । बुधबार मात्रै तत्कालीन गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिवका रुपमा कार्यरत टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिएको छ ।
तत्कालिन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको संरक्षण र सहयोगमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं रुपैयाँ असुलीमा संलग्न गिरोहलाई राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वसम्मले साथ दिएको आशंकासहित अनुसन्धान भीआईपी गिरोहतर्फ सोझिएको छ । प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । एमाले सचिव समेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष समेत रहेका पूर्व उपप्रधान एवंम गृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको दाबीसहित चुप लागेर नबस्नेसम्मको चेतावनी दिएका छन् । अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन सचिव प्रेमकुमार राई, महेश्वर न्यौपाने र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत यो प्रकरणमा जानकार रहेको र करोडौँको अनियमिततामा साथ दिएको आशंकासहित प्रमाण प्रमाण संकलन र अनुसन्धानमा प्रहरी जुटेको छ ।
पक्राउ परेकामध्ये सानु भण्डारीको तत्कालिन ओली सरकारका उर्जामन्त्री रायमाझीसँग निकट सम्बन्ध रहेको, पीडितले रायमाझीका छोरा सन्दीपलाई डेढ करोड रुपैयाँको चेक दिएको खुलेको छ । पक्राउ परेकामध्ये मोरङका केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत रहेका व्यक्ति हुन । दुलाल र तत्कालीन उर्जामन्त्री रायमाझीसँग समेत निकट सम्बन्ध भएका सानु भण्डारीको योजनामा नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने योजना बुनेको प्रहरी अनुसन्धानले देखाएको छ ।
गृहमन्त्रीका सल्लाहकार डा. इन्द्रजित राईमार्फत सेटिङ मिलाएर कम्तिमा १४५ जनाको नाम कार्यदलको प्रतिवेदनमा थपिएको प्रकरणमा अझै थप ११ भीआईपी र बिचौलिया पक्राउ पर्ने आँकलन भैरहेको छ । उच्च प्रशासकसँगै पूर्वमन्त्रीतर्फ सोझिएको यो अनुसन्धानलाई भ्रष्टाचार विरोधी अभियान समेत चलाईरहेका कानुन व्यवसायी भने जनता भुलाउने नाटक मात्रै भनिरहेका छन् । अख्तियार प्रमुख राईसहित दुई मन्त्री र उच्च पदस्थ कर्मचारीसहितका बिचौलिया मुछिएको नक्कली भुटानी शरणार्थी प्रहरणमा १०६ जनाले पीडित भएको भन्दै उजूरी दिएका छन् । पीडितले २३ करोड २५ लाख ठगी भएको उजूरी गदैगर्दा यो मुद्धाले प्रशासनिक र राजनीतिक क्षेत्रमै हलचल मच्चाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आरोपितको बयान, #उच्च प्रशासकदेखी राजनीतिक, #शरणार्थी बनाएर अमेरिका
तपाईको कमेन्ट लेख्नुहोस्