नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो

काठमाडौं । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को तथ्यांक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को तथ्यांक सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको तथ्यांकमा प्रारम्भिक तथ्यांकमा भन्दा २७ हजार ९०२ जनसंख्या घटेको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को तथ्यांक शुक्रबार सार्वजनिक गरिएको छ । एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले १२ औं राष्ट्रिय जनगणना २०७८ को तथ्यांक सार्वजनिक गरेका हुन् । सार्वजनिक तथ्यांकअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन् ।
नेपालमा पुरषभन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ । यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ । त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ । जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन् । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन २०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ ।
२०६८ अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो । भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ । देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी परिवारले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत र बिजुली प्रयोग गर्ने परिवार जम्मा ०.५ प्रतिशत छ ।
केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । यस्तै २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको जनाइएको छ । यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।
जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना भने गरिएको छैन । जगणना सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । जनगणनाको तथ्यांकबाट संघ, प्रदेश र स्थानीय तहमा नीति, योजना र कार्यक्रम बनाउँदा तथ्यमा आधारित निर्णय गर्न सहज हुने उनको भनाइ छ । जनगणना २०७८ को अध्ययन गर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको, बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१२ औं राष्ट्रिय जनगणना, #२०७८ को तथ्यांक, #नेपालको १२ औं राष्ट्रिय जनगणना
तपाईको कमेन्ट लेख्नुहोस्