Techie IT
  • ५ असार २०८१, मंगलबार
KhojPatrika

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, यसरी हुन्छ मतभारको अंकगणितिय हिसाव !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत सोमबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर निर्देशन दिएसँगै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको पहल सुरु भएको छ । नेपालको संविधान अनुसार राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रहने र उनको अनुपस्थितिमा राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिले सम्हाल्ने व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिनै लाग्दा निर्वाचन आयोग फागुन अन्तिमतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नेगरि तयारीमा जुटेको छ ।

संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्थामा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहने उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा संघीय संसद्मा रहेका कुल सदस्य संख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल संंघीय संसद्तर्फको मतभार हुनेछ भने प्रदेशसभाका कुल सदस्य सख्याले नेपालको जनसंख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार मानिने गर्दछ ।

हाल प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५८ सदस्य गरी संघीय संसदमा ३३३ सदस्य छन् । एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सदस्य पद रिक्त छ । अहिले संघीय संसदमा ३३४ सदस्य रहनेछन् । यस्तै, सातवटै प्रदेश सभा तर्फ ५५० जना सांसद छन् । यसरी दुवैतर्फका गरी ८८४ मतदाता छन् ।

नेपालको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । यस अनुसार संघीय संसद् सदस्यको कायम रहेको मतभार ७९ बाट बढेर ८४.८६ अर्थात् ८५ पुग्ने देखिन्छ भने प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ पुग्छ । संघीय संसद् तर्फका कुल ३३४ जना सदस्यको आधारमा संघीय संसद्को मत २८ हजार ३ सय ९० पुग्छ भने प्रदेशसभातर्फका ५५० जना सांसदको आधारमा २९ हजार १ सय ५० पुग्न जान्छ । संघीय संसद् र प्रदेशसभा गरि ५७ हजार ५४० पुग्छ ।

प्रतिनिधि सभाको मात्रै हेर्दा सत्तारुढ दलहरु नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र तीन स्वतन्त्र सासंद गरि १६९ सिट छ । यसरी प्रतिनिधि सभामा मात्रै सत्तारुढ गठबन्धनको १४ हजार ३ सय ६५ मत छ ।

यस्तै, प्रतिनिधि सभामा ८९ सिट रहेको कांग्रेसको ६ हजार ७१५ मत, एकीकृत समाजवादीको ८५०, लोकतान्त्रिक समाजवादी पार्टीको ३४०, जनमोर्चाको ८५ मत छ ।

राष्ट्रिय सभामा सत्तारुढ दलको संख्या ३६ छ । यसरी राष्ट्रिय सभामा सत्तारुढ दलको तीन हजार ६० छ । कांग्रेसको ८५०, एकीकृत समाजवादीको ६ सय ८०, जनमोर्चा र लोकतान्त्रिक समाजवादीको ८५ छ । यसरी, संघीय संसद् तर्फ सत्ता गठबन्धनको कुल मत १७ हजार ४२५ मत छ । कांग्रेसको ७ हजार ५६५, एकीकृत समाजवादीको १ हजार ५३०, लोसपाको ४२५ र जनमोर्चाको १७० रहेको छ ।
प्रदेश सभा तर्फ…
प्रदेश १ मा सत्तारुढ दल नेकपा (एमाले) ४०, नेकपा (माओवादी केन्द्र) १३, राप्रपाका ६, जसपाका १ प्रदेशसभा सदस्य गरि ६० सिट छ । गठबन्धनसँग ३१ सय ८० मत पुग्छ । यस्तै २९ सिट रहेको कांग्रेससँग १ हजार ५ सय ३७ मत भने ४ सिट पाएको एकीकृत समाजवादीको २१२ मतभार छ ।

मधेश प्रदेशमा एमालेसँग २३, जनता समाजवादी पार्टीसँग १६, जनमत पार्टीसँग १३, नेकपा (माओवादी केन्द्र)सँग ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक÷एक सिट गरि ६२ सिट छ । यसरी हेर्दा गठबन्धनसँग ३२ सय ८६ पुग्छ । २२ सिट पाएको नेपाली कांग्रेसको ११ सय ६६ मत छ । ९ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४७७, ७ जित जितेको (एकीकृत समाजवादी)सँग ३७१ सिट छ । स्वतन्त्र जितेका ६ जनासँग ३१८ मतभार छ ।

बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ गरि ६१ सिट छ । बाग्मतीमा गठबन्धनको ३२ सय ३३ मतभार छ । ३७ सिट पाएको नेपाली कांग्रेसको १९ सय ६१, ७ सिट पाएको एकीकृत समाजवादीको ३७१, तीन सिट पाएको नेमकिपाको १५९ र दुई सिट पाएको हाम्रो नेपाली पार्टीको १०६ मत छ ।

गण्डकी प्रदेशसभामा गठबन्धनसँग एमालेको २२, माओवादी केन्द्रको आठ र राप्रपाको दुई सिट गरि १६ सय ९६ मत पुग्छ । २७ सिट ल्याउको नेपाली कांग्रेससँग १४ सय ३१, एक सिट जितेको एकीकृत समाजवादीसँग ५३ मत छ ।

लुम्बिनी प्रदेश सभामा गठबन्धनतर्फ एमालेको २९ सिट, माओवादीको १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा र जनमतका ३–३ सिट गरि २८ सय नौं मत पुग्छ । २७ सिटेको कांग्रेसको १४ सय ३१, तीन सिट जितेको लोसपाको १५९ र एक–एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीको ५३–५३ मत छ भने दुई जना स्वतन्त्रको १०६ मत छ ।

कर्णाली प्रदेश सभामा गठबन्धनसँग माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाको एक सिट गरि १२ सय ७२ मतभार रहेको छ । यता, १४ सिट जितेको कांग्रेससँग ७४२, एक–एक सिट जितेका एकीकृत समाजवादी र स्वतन्त्र सांसदको ५३–५३ मत छ ।

सुदुरपश्चिम प्रदेशसभामा गठबन्धनतर्फ माओवादी केन्द्रको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, राप्रपाको एक गरि १५ सय ३७ मत छ । १९ सिट जितेको नेपाली कांग्रेसको एक हजार ७, चार सिट जितेको एकीकृत समाजवादीको २१२ र एक जना स्वतन्त्र सांसदको ५३ मत छ ।

संविधानअनुसार संघीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् । यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ । दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्छन तीनै व्यक्तिले राष्ट्रपति बन्ने अवशर पाउनेछन् ।

राष्ट्रपति निर्वाचनका क्रममा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारका पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्नेछ । नेपालको राष्ट्रपति बन्न कुनै कानुनले अयोग्य ठहर नगरेको र ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ । साथै, दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन । उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता तोकिएको छ । राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुनुपर्ने संबैधानिक व्यवस्था  छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपराष्ट्रपतिको चुनाव, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राष्ट्रपति र उपराष्ट्रपति, #राष्ट्रपतिको चुनाव

तपाईको कमेन्ट लेख्नुहोस्