पहिलो दल बन्दा पनि कसरी चुके देउवा ? पार्टी भन्दा आसेपासे च्याप्दा टुट्यो गठबन्धन !

काठमाडौं । नेपालीमा एउटा उखान चर्चित छ, भुईंको टिप्न खोज्दा पोल्टाको गुम्छ । हो सत्ता गठबन्धनको बलमा चुनाव लडेर नेपाली कांग्रेसलाई पहिलो दल बनाएका कांग्रेस सभापति शेरबहादुर देउवाको हविगत ठ्याक्कै यस्तै बनेको छ । विगतको अनौँपचारिक सहमति अनुसार पहिलो कार्यकालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री सुम्पिन तयार नभएसँगै देउवाले आफू गठबन्धनको निर्बिकल्प नेता बन्ने हैसियत मात्रै गुमाएका छैनन विशिष्ट पदसँगै सातवटै प्रदेश सरकारको नेतृत्व गर्ने हैसियत गुमाएका छन् ।
संघीय सरकारदेखि प्रदेशसम्मको शक्ति बाँडफाँडबाट बाहिरिएका देउवा आफू ५ पटकसम्म प्रधानमन्त्री बनेपनि कांग्रेसलाई भने निरन्तर कमजोर बनाउन उद्धत देखिएका छन् । देउवा र उनी निकटका केही नेताहरुको स्वार्थ अनि हठका कारण सत्ताको बागडोरबाट कांग्रेस प्रतिपक्षीमा बस्नुपर्ने अवस्था बनेको छ । प्रधानमन्त्री र राष्ट्रपति दुबैको अडानका कारण सबै पदबाट बाहिर बस्नुपर्ने अवस्थामा देउवा र कांग्रेस पुगेको छ ।
हुनत, कांग्रेस बृत्तमै लामो समयदेखी चर्चा चल्ने गरेको थियो देउवा, परिवार, वरपरका आसेपासेको चंगुलबाट माथी उठ्न नसक्दा कांग्रेस कमजोर बन्दैछ, थप कमजोर बन्नेछ । यता, गत मंसिरको चुनावमा सत्ता गठबन्धनको बलमा कांग्रेस पार्टी पहिलो त बन्यो, कांग्रेस जनमा २०७४ को निरासा भुलाउने गरि खुसी फर्कियो । तर, देउवा र उनको स्वार्थी टिमको गलत निर्णय अनि हठका कारण कांग्रेस बलियो बन्दा बन्दै कमजोर बन्न पुगेको छ ।
प्रधानमन्त्री, राष्ट्रपति मात्रै नभएर सभामुख, मन्त्री, प्रदेशमा मुख्यमन्त्री, मन्त्री बन्ने र बनाउन हैसियतबाट कांग्रेस नेता अनि सांसदहरु बाहिरिएका छन् । पार्टीभित्र पुस्तान्तरणको आवाज उठेपनि देउवा स्वय पत्नी आरजु राण र उनको कोर टिमकै चलखेलका कारण संसदीय दलको नेता बन्नबाट गगन थापा रोकिए । पार्टीभित्र बलियो देखिएका देउवा यतिबेला सत्ता राजनीतिमा कमजोर र लाचार जस्तै देखिएका छन् ।
महाधिवेशन मार्फत बहुमत जुटाएर कांग्रेस सभापति बन्न सफल भएपनि देउवाले पार्टीलाई गतिशिल बनाउन सकेनन । सत्ता गठबन्धनको बलमा पार्टीलाई पहिलो बनाउन सफल भएपनि सत्ताको निर्णायक शक्ति बनाउनबाट चुके । देउवाको यो असफलतामा उनका विश्वास पात्र मानिएका कतिपय नेताहरुको समेत ठूलो कमजोरी देखिएको छ ।
वर्तमान सरकारका सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्की हुन वा गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँड, बिमलेन्द्र निधि अनि उपसभापति पूर्णबहादुर खड्का हुन वा पार्टी प्रवक्ता समेत रहेका नेता प्रकाश शरण महत । यी गुटगत स्वार्थभन्दा माथी उठ्न नसक्ने नेता र श्रीमती आरजु राणाको गलत सल्लाहका कारण कांग्रेसमा देउवा युगको ओरालो यात्रा सुरु भएको छ ।
सत्ता सहकार्यका क्रममा विभिन्न पद पाउने अबसर समेत कांग्रेस सांसदहरुले गुमाएका छन् । पहिलो दल बनेको कांग्रेस संघदेखी प्रदेशसम्मै प्रतिपक्षमा बस्नुपर्ने अवस्थालाई कांग्रेस जनले सहज रुपमा लिन नसकेपनि अब कांग्रेसभित्र देउवा युगको ओरालो यात्रा निश्चित जस्तै बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #देउवा, #नेपाली कांग्रेस, #संघीय सरकार, #सत्ता गठबन्धन
तपाईको कमेन्ट लेख्नुहोस्