कांग्रेसको संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री गगन भिड्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ । डाक्टर शेखर कोइराला पक्षको बैठकले महामन्त्री थापालाई नै संसदीय दलको नेताका लागि उम्मेद्वार बनाउने निर्णय गरेपछि दुबैबीच प्रतिष्पर्धा हुने भएको हो ।
कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको थियो । मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो । बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने बताएका थिए ।
आगामी पन्ध्रौं महाधिवेशनमा डा. शेखर कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने निर्णय भएको छ । शेखर समुहको बैठकस्थल पुगेका महामन्त्री विश्वप्रकाश शर्माले आफू गगन थापालाई संसदीय दलको नेता बनाउने पक्षमा रहेको बताए ।
संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् । यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । थापालाई नेता प्रदीप पौडेलले पनि साथ दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #महामन्त्री गगन थापा, #शेखर कोइराला, #शेरबहादुर देउवा
तपाईको कमेन्ट लेख्नुहोस्