Techie IT
  • २९ माघ २०८१, मंगलबार
KhojPatrika

सहकारी क्षेत्र सुधारका लागि नीतिगत व्यवस्था कार्यान्वयनमा जोड


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकले आइतबार सचिव रेग्मीको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले सहकारी क्षेत्रमार्फत समाज रूपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सरकार र अभियानबिचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन ।

‘सहकारी क्षेत्रमा भएको विकृतिलाई निरुत्साहन गर्नको लागि सरकार र सहकारी अभियान मिलेर थप सुधारको कार्य गर्न सकिने उनको भनाई छ । सहकारीको बचत परिचालन, सशक्तीकरण, युवा सहभागिता र गरिबी न्यूनीकरणका साथै वित्तीय परिचालनमा अनुशासित बनाउनको लागि राज्यले सहकारी अभियानसँग समन्वय गरेर कार्य गर्नुपर्नेमा सचिव रेग्मीले जोड दिए ।

बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीमा देखिएको पछिल्लो अवस्थाको विषयमा जानकारी गराउँदै ऐनले व्यवस्था गरेको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन तत्काल गर्नुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी बैंकलाई पूर्ण बैङ्किङ कारोबारको लागि सहजिकरण, सहुलियतपूर्ण कर्जा सहकारी बैंकमार्फत परिचालन गर्न आग्रह गर्दै सहकारीको विकास र प्रवर्द्धनमा राष्ट्रिय सहकारी बैंककोे योगदान र बैंकको विगत र वर्तमानको विषयमा प्रस्तुतीकरण गरेका थिए ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक, #सहकारी क्षेत्र

तपाईको कमेन्ट लेख्नुहोस्