तीन जिल्लामा अझै खुलेनन् मतपेटिका,जाँचबुझ गर्न आयोगले पठायो टोली

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको काम अन्य क्षेत्रमा अन्त्यतिर पुग्न लाग्दा पनि ३ जिल्लामा अझै मतपेटिका खोलिएको छैन । बाजुरा, दोलखा र स्याङजामा राजनीतिक दलहरुबीचको विवादका कारण मतगणना हुन हुनै सकेको छैन । बाजुराको बुढीनन्दा ५ लगायत जिल्लाका दुई दर्जन मतदान केन्द्रमा विवाद र झडप भएको थियो ।
ती जिल्लामा भएको एक मतदान केन्द्रको झडपमा परी कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता सञ्जिव ऐडी र एमालेको विद्यार्थी संगठनका नेता चेतन ऐडीको मृत्यु भएको थियो । बुढीनन्दामा शनिबार पुनः मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपनि एमालेको अवरोधका कारण जिल्ला निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचन गराउन सक्ने अवस्था देखिदैन ।
त्यस्तै, दोलखामा एमालेले मतगणना कार्यमा सहभागी नहुने भन्दै पुनः मतदानको माग गरिरहेको छ । जिल्लाका विभिन्न ६ मतदान केन्द्रमा बुथ कब्जा भएको एमालेको आरोप छ । कालिन्चोक गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा ९० प्रतिशत मतदान भएको, बैतेश्वर गाउँपालिका वडा नम्बर १ को कालीढुङ्गा मतदान केन्द्रमा ९० प्रतिशतमाथि मत खसेको, बैतेश्वर ६ को मतदान केन्द्रमा मतपेटिका चोरिएको, मतपेटिकामा पानी परेको र मतपत्र छरिएको आरोप एमालेले लगाएको छ । दोलखाको तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ गाउँपालिकामा धाँधली भएको आरोप उसले लगाएको छ ।
यस्तै स्याङजामा पनि बुथ कब्जा भएको भन्दै एमालेले मतगणना अघि बढाउन दिएको छैन । जिल्लाका विभिन्न ४ मतदान केन्द्र कब्जा गरेर मत हालेकोले ती बुथमा फेरि निर्वाचन गर्न एमालेको माग छ । तर, निर्वाचन अधिकृतको कार्यालयले कुनै धाधली नभएको भन्दै निर्वाचन आयोगमा पत्र लेखेर पठाएको छ ।
मतगणना हुन नसकेका ३ जिल्लामा निर्वाचन आयोगले छानबिन टोली पठाएको छ । आयोगले सहसचिव तहको कर्मचारीको नेतृत्वमा छानबिन टोली पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । देशका १६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६२ निर्वाचन क्षेत्रमा मतगणना सकिन लागेको बाजुरा, दोलखा र स्याङजामा मतगणना सुरु हुन नसकेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दोलखा र स्याङजा, #बाजुरा, #मतगणनाको काम, #मतपेटिका
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्