Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

रुकुम सल्ले अस्पतालमा डाक्टरको मनलाग्दी,कार्यकक्षमा नभेटिनेदेखि बिरामीलाई थर्काउनेसम्म !


काठमाडौं । रुकुमपश्चिमको सल्लेस्थित जिल्ला अस्पतालमा बेथितिका चाङ  लागेको गुनासो बढेको छ । सदरमुकाम आसपास लगायत सल्यान र रोल्पा तथा जाजरकोटका समेत बिरामी उपचारका लागि आउने जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कर्मचारीसम्मको मनपरी चल्ने गरेको पाइएको छ ।

उपचारका लागि बिरामी कार्यकक्षमा कुर्दा समेत चिकित्सक कुन काममा र कहाँ गएका हुन्छन् कसैलाई पत्तै नहुने गुनासो बढेको छ । करिव १० जना चिकित्सक रहेको सल्ले जिल्ला अस्पतालमा उपकरण तथा स्वास्थ्य सामग्रीको अभाव समेत देखिने गरेको छ । त्यस्तै विरामीलाई गाह्रो पर्दा होस् या सोधपुछका लागि किन नहोस फोन तथा टेलिफोन मार्फत बुझन खोज्दा उल्टै थर्काउने र नम्बर नै डिलिट गर्न लगाउनेसम्मका हर्कत गर्दै आएको पाइएको छ ।

अस्पताल सुधारका लागि पटक–पटक आग्रह गर्दा समेत अस्पताल प्रशासनले अटेरी गर्ने गरेको स्थानीयको भनाई छ । लामो समयदेखि रुकुममा मानवअधिकार क्षेत्रमा काम गर्दै आएकी शारदा डाँगीले सामाजिक सञ्जालमा गरेको स्टाट्स पोष्टले नै अस्पतालभित्र थुप्रै बेथिति छन् भन्ने पुष्टि गरिदिएको छ । डाँगीको स्टाटसमा कमेण्ट गर्नेहरुले अस्पतालमा थुप्रै बेथिति भएको भन्दै आलोचना गरेका छन् । उनीहरुले तत्काल स्थानीय सरकारको ध्यान पुगेर अस्पताल सुर्धार्नुपर्ने समेत सुझाव दिएका छन् ।
हेरौं शारदा डाँगीको स्टाटस जस्ताको तस्तै
जिल्ला अस्पताल सल्ले रुकुमको मेरो भोगाई ।
हेलो सरकार
भलाक्चा स्याबाङ घर भएको मेरो आफन्तको २ वर्षको बच्चालाई साउन १९ मा कुकुरले टोके छ। आज भन्दा झन्डै ६ /७ बर्ष पहिले सानीभेरी गा.पा.फुक्क्रु कि एक ११ वर्षिय बालिकाको कुकुरको टोकोईबाट रेबिज भएर उपचारका लागि नेपालगन्ज लैजादै गर्दा बाटोमै ज्यान गएको मैले प्रत्यक्ष देखेको थिए । यसकारण म अझै आत्तिए । अनि २० गते नै जिल्ला अस्पताल सल्लेमा बिरामीलाई लिएर रेविज बिरुद्धको २ वटा खोप लगाइयो । अनि अर्को खोपका लागि २७ गतेको समय दिईयो । सोहि अनुसार तेकिएको समय २७ गते सल्ले अस्पतालमा पुनः बिरामीलाई लगियो तर खोप सकिए छ।

अस्पताल बाट बिरामीलाई कतैबाट खोप किनेर लगाउने वा चौरजहारी लैजानुपर्ने सुझाव आयो । अनि बाहिर बुझियो,अस्पताल गेटमा भएको निजि क्लिनिक बाट खोप किनेर लगियो तर खोप मिलेन। फेरि नजिकैको अर्को क्लिनिकबाट लगियो, यो पनि पहिलेकै जस्तो रहेछ मिलेन अनि भनियो, खोप ३ थरिको हुन्छ, पेटमा, मासुमा र छालामा लगाउने । छालाको लागि भनेर लिनुपर्छ, यतातिर छैन होला चौरजहारी लैजानुस् भनियो । अनि चौरहारी छ ? छैन बुझिदिनुस् भन्दा अहिले अस्पताल भित्र बाट फोन लाग्दैन बाहिर गएर आफै बुझ्नुहोस् भनियो त्यसपछि सम्पर्क नम्बर मागेर ल्याईयो,फोन गरेर खोपको बारेमा सोधियो, जवाफमा म बाहिर छु, हेर्नुपर्छ २ बजेपछि मात्रै मलाई फोन गर्नुहोस् भन्ने आयो।

म २ बजेसम्म धैर्य गर्न सकेन, अनि खलंगा वजार देखि बागबजार सम्मका निजी अस्पताल र क्लिनिकमा बुझियो, एक ठाउँ बागबजारमा पाईयो। सो खोपको को विवरण चौरजहारीलाई बताए, जवाफ आयो, जहाँ गएपनि खोप त्यहीनै हो, काम उही हो लगाउने बिधि र औषधिको मात्रा मात्रै फरक–फरक हो, त्यस कारण पहिले जसरी लगाइयो त्यसैगरि त्यही पाखुराको छालामै लगाउनु होस् । मलाई चित्त बुझेन मैले चिनेका केही स्वास्थ्यकर्मी बाट सवै विवरण सहित सल्लाह मागे तर फरकफरक सुझाव आयो । कसैले भने काम गर्छ त्यही बिधि हो, कसैले भने कम्पनी फरक परेमा काम गर्दैन तु दाङ वा नेपालगन्ज लैजानु भन्ने सुझाव आयो ।

म अझै आत्तिए । अनि खोप पाईएको ठाउँमा स्वास्थ्यकर्मीले बिरामी पर्चा हेरेर कम्पनीको नाम खै, औषधिको मात्रा कति हो ? कुन कम्पनीको हो त ? तपाईंले कम्पनीको कुरा गर्नुहुन्छ ? भन्छ । त्यति गर्दागर्दै चौरजहारिको गाडी छुटिसकेछ । हामी पुनः यो खोप पनि किनेर आईसमा राख्न लगाएर जिल्ला अस्पताल सल्लेमै ईमर्जेन्सी वार्डमा पुग्यौं र देखायौ । जवाफ आयो, यो पनि उहि बिहानै जस्तो हो, काम गर्ने भए उतै लगाउनुपर्छ यहाँ किन लिनु भयो ? अनि मैले जवाफ दिए अलि धेरै थरिको कुरा आयो, भोलि केहि समस्या हुन सक्छ भनेरै जनाउदै, अनि दिनभरिको विवरण वताईयो र अब कहाँ पाईन्छ बुझिदिन पर्यो, पहिले लगाएको खोप उत्पादन कम्पनीको नाम र रिफर कागज लेखिदिन पर्यो भनियो ।

जवाफ आयो, यो त डाक्टरलाई भन्नुहोस् । अनि चिनेको डाक्टरलाई फोन गरे जवाफ आयो म बाहिर छु अहिले ओपिडीमा डा. धिरज कुमार दास हुनुहुन्छ उहाँलाई भेट्नुहोस् । अनि उहाँलाई खोजियो कतै हुनुहुन्न, अन्तमा कतैबाट फोन नं पाएपछि ४ बजेर २८ मिनेटमा फोन गरियो जवाफ आयो तपाईंको नाम के हो ? नाम र समस्या बताए । फोन नम्बर कसले दियो ? मैले नाम बताईन, खै चिनेन, मास्क लगाएको थियो भनिदिए । म तपाईलाई भेट्छु तर नम्बर डिलिट गरिहाल्नुस् भनियो, हस् डक्टर भनेर राखे ।

केहि समयपछि अस्पताल को गेट बाहिर बाटै आउनु भयो र भन्नुभयो, फोन गर्ने को हो ? म हुँ डक्टर भने । हैन केटाको आवाज थियो त भन्नुभयो । हैन मै हु भने । अनि नम्बर कहाँबाट लिएको भनेर हकारेको भाषामा पुनः सोधियो मैले पहिलेकै भाषामा चिनेन मास्क थियो भनिदिए हुलिया बताएन। तु. डिलिट गर्नुहोस् भनियो, नरम भाषामा हस् भने, किनभने बिरामीको सेवा लिनु थियो। अनि समस्याका बिषयमा सोधनी भयो र भनियो अझैसम्म चौरजहारी लग्नु भएको छैन ?

मैले दिनभर भएका सवै प्रयासका कथा सुनाए र अन्तमा मैले उहि अपेक्षाको कुरा राखेँ, यहाँ लगाएको रेविज खोपको कम्पनीको नाम र रिफर कागज लेखिदिन पर्यो भने। डक्टरवाट जवाफ आयो, म एकछिन चौरजहारी बुझ्छु भनेर अनि उहाँको फोन पश्चात् पुनः बिहानै लिएर फिर्ता गरेको जस्तै मैले आईसमा राखेर लिएको खोप खुट्टाको मासुमा लगाउने आदेश गरेर उहाँ त्यहाँबाट बहिरनु भयो। घरी छालामा घरि मासुमा चौरजहारीले पनि रु संका राख्दै बेलुकी ५ वजे खोप लगाईयो ।

यदि त्यहीँ खोप लगाउने हो भने किन हामीलाई दिनभर तनावमा पारियो। बिहान ११ बजे अस्पताल पुगेको मान्छेलाई तनावग्रस्त अवस्थामा पुनः अस्पतालमा बेलुका ५ बजाउनु पर्यो ? समयमै जिल्ला अस्पताल सल्लेले चौरजहारी अस्पतालमा किन बुझेन ? के सबै बिरामीसंग डाक्टरको फोन हुन्छ र ? फेरि डाक्टरलाई फोन गर्न पनि पाईदो रहेनछ । दिनभर बिरामी बच्चा र आमा सहित कति ओहोर दोहोर हिड्न लगाईयो बिदाको दिन छ । यातायात चल्दैनन् , आफुसंग गाडी घोडाको सुबिधा छैन। घरीघरी सल्ले र खलंगा,अनि मानसिक तनाव, एउटै भ्याक्सिन मा पनि स्वास्थ्यकर्मीको किन फरकफरक सुझाव आयो ? यो खोप प्रति आज म झनैे ढुक्क हुन सकेको छैन।

मैले जिल्ला अस्पताल सल्लेको गुनासो सुनेको थिए । तर यति भोगेको थिएन आज निकै चित्त दुखेर आयो । मैले यति भोगे भने गाउँका अन्य सोझा साझा बिरामीलाई कति सास्ती हुदो हो । यही भएरै रहेछ निजी अस्पतालमा बिरामी भरिने । डाक्टर को नाम लिस्ट गणना गरे ९/१० जनाको संख्यामा रहेछ, तर अस्पतालमा कोहि भेटिदैन डाक्टर बाहिर, भन्ने नेम प्लेट मात्रै देखिन्छ । यस्तो रेविज जस्तो खतराजन्य रोगमा यति लापरबाही देखियो । बर्षातको समय छ, स्याल र भुस्या कुकुरको बिगबिगी छ, खोप छैन। यो एउटा प्रतिनिधिमुलक घटना मात्रै हो । समस्या कति धेरै छन् सुनिदिने कोहि छैन र भनेर पनि साध्यै छैन।

मत मन्दिरमा पुजा गर्नपनि जाँदैन किनकि, भगवान् डाक्टरलाई मान्छु। अरुलाइ पनि भन्छु,भगवान भनेका डक्टर हुन् बिरामी परेर मन्दिरमा नजाउ अस्पतालमा जाउ डक्टरको पुजा गर भगवान् उनै हुन् भनेर सवैलाई भन्ने गर्छु तर आज मैले मानेको भगवान् को व्यवहाले चित्त दुखेको छ यो व्वहार प्रती मेरो खेद छ । अन्तमा डाक्टरलाई फोन गर्न पाईन्छ कि पाईदैन जानकारी पाउँ । हेलो स्थानीय सरकार सम्वन्धित पक्षको ध्यान जावस् । यो खोप प्याकेटसंगै देखिने सेतो सेतो पोका आईस हो । यहाँ देखिएको बिरामीको पर्चाले के के खुलेको छ आफुलाई त डक्टरी भाषा आउदैन भाषा बुझ्नेहरुले हेरिदिनु पर्यो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चिकित्सकदेखि कर्मचारी, #रुकुमपश्चिम, #सल्लेस्थित जिल्ला अस्पताल

तपाईको कमेन्ट लेख्नुहोस्