Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

अग्नि सापकोटाको अग्नि परिक्षा सुरु, एमसीसी अघि नबढाए महाअभियोगको प्रस्ताव


काठमाडौं । अहिले केहीले बुझेर र केहीले नबुझेरै बहस र चर्चामा ल्याएको विषय हो, एमसीसी सम्झौता । नेपाल सरकारले अमेरिकासँग एमसीसी सम्झौता गरेको झन्डै पाँच वर्ष बितिसकेको छ । तर, यो अवधिमा यही सम्झौताका कारण नेपालको राजनीतिमा निकै उथल पुथल समेत आएको छ । केही दिन अगाडि मात्र सत्ता गठबन्धनको छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौता तत्काल नै संसदबाट पारीत गर्नुपर्ने भन्दै गठबन्धनका अन्य दललाई चेतावनी नै दिएका थिए । त्यही आधारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सभामुख अग्निप्रसाद सापकोटाको सहयोगमा प्रतिनिधि सभाको बैठक नै सार्न लगाएका छन् ।

प्रधानमन्त्रीले गठबन्धनमा रहेका दलहरुलाई यथाशीघ्र एमसीसी सम्झौता संसदबाट पारित गर्न दबाब दिन थालेपछि सभामुखले गत आइतबार नै बस्नु पर्ने प्रतिनिधि सभाको बैठक माघ २६ गतेसम्मलाई स्थगित गरेका थिए । सभामुखको यो कदमबाट रुष्ट बनेको नेपाली कांग्रेसले एमसिसी सम्झौता कै कारण गठबन्धन तोड्न सक्ने सम्भावना बढेर गएको छ । अन्तिम अस्त्रका रुपमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर सभामुख नै हटाएर एमसीसी सम्झौतालाई संसदमा प्रवेश गराउने तयारी गरेको समेत बुझिएको छ । १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुख सापकोटासँग रुष्ट बनेको एमालेले यसलाई सभामुखसँग बदला लिने तथा सत्तारुढ गठबन्धनमा भाँजो हाल्ने अवसरका रुपमा सदुपयोग गर्ने रणनीति बनाएको छ ।

सभामुखलाई हटाएको खण्डमा एमसिसी पारीत गर्न सघाउने तयारी एमालेको छ । त्यसको लागि निरन्तर प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेससँग कुरा मिलेको खण्डमा एमालेले सभामुखविरुद्ध केही दिनमै महाभियोग प्रस्ताव दर्ता गर्ने बुझिएको छ । अमेरिकी सहयोग कार्यक्रम एमसीसीलाई रोक्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले सक्दो प्रयास गरिरहेका छन् । तर, कांग्रेस र एमालेले सभामुखलाई तारो बनाएर एमसीसीलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् ।

यता माओवादी केन्द्र र एकिकृत समाजवादी यथास्थितीमा एमसिसी पास गर्न नसकिने अडान यथावत छन । यस्तो अवस्थामा माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटाले एमसीसीलाई टेबुल गर्न अवरोध गर्न सक्ने बुझाईका साथ एमालेसंङ नेपाली काङ्रेस नजिकिएको बुझिएको छ । एमाले अध्यक्ष ओलीले एमसीसी पारित गर्न साथ सहयोग गर्ने तर त्यसका लागि सभामुख हटाउनु पर्ने प्रस्ताव देउवा समक्ष राखिसकेको छन् ।

त्यसपछि भद्र सहमति अनुसार देउवालाई चुनावसम्म सरकार संचालनमा समेत एमालेले साथ दिने छ । तर नेकपा एकिकृत समाजवादीका सचिव तथा संसदमा प्रमुख सचेतक जीवनराम श्रेष्ठले सभामुखलाई महाअभियोग लगाउने बिषय आफुले सुनेको भएपनी त्यो कदम अलोकतान्त्रिक हुने टिप्पणी गरेका छन् । सभामुखमाथि पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव पेश भएमा त्यस उपर छलफल भएर दुई तिहाईले पारित भए पदमुक्त हुने संवैधानिक व्यवस्था छ । संविधान अनुसार सभामुखविरुद्ध एमालेले महाभियोग प्रस्ताव पेश गर्ने तयारी गरिरहेको बुझिएको छ । काँग्रेससँग कुरा मिलेलगत्तै उसले प्रस्ताव पेश गर्नेछ ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी सम्झौता, #नेकपा माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्