Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

भूगर्भ विभागका महानिर्देशकसहित १८ व्यक्ति र ९ कम्पनीविरुद्ध अख्तियारले गरायो मुद्धा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित १८ जना तथा ९ चर्चित कम्पनीविरुद्ध भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरेको छ । विशेष अदालतमा बुधबार दायर गरिएको मुद्दामा निजहरुबाट १ अर्ब २४ करोड रुपैयाँ बिगो दाबी माग गरिएको छ । विभागका तत्कालीन उपमहानिर्देशक घिमिरेको नेतृत्वमा ३ सदस्यीय समितिले विभिन्न ९ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेको भन्दै प्रतिवेदन पेश गरेको थियो ।

२०७६ साल असार ३१ गते पेस गरेको प्रतिवेदनमा १ अर्ब २६ करोड १९ लाख ४८ हजार रुपैयाँ क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाहीको सिफारिस गरिएको थियो । तर, उक्त क्षतिपूर्ति नलिई २०७७ जेठ १५ गते जयराज घिमिरेको संयोजकत्वमा अर्को समितिले दिएको प्रतिवेदन बमोजिम १८ लाख मात्रै जरिवाना लिएर राज्यलाई अर्बौंको राजश्व घाटा गराइएको भन्दै अख्तियारमा उजुरी परेको थियो । यहि विषयको अनुसन्धानले महानिर्देशक घिमिरेले आफ्नै नेतृत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी बदनीयतपूर्वक दोस्रो समिति बनाएर नेपाल सरकारलाई राजश्व हानी र निजी उद्योगलाई फाइदा पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।

दोस्रो प्रतिवेदनका आधारमा ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष १–१ रुपैयाँ मात्रै जरीवाना लिई नेपाल सरकारलाई १ अब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजश्व चुहावट गरी भ्रष्टाचार भएको सप्रमाण पुष्टि भएको अख्तियारको दाबी छ । मुद्दामा विभागका महानिर्देशकसहित ९ वटा सिमेन्ट उद्योग सञ्चालक समेत मुछिएका छन् । अनुमति पाएको भन्दा बढी उत्खनन गरेका कम्पनीहरुलाई उचित जरीवना नगराई भ्रष्टाचार गरिएको आरोप अख्तियारको छ ।
कुन–कुन सिमेण्ट उद्योग परे त फन्दामा
१.सिद्धार्थ मिनरल्स प्रालि
सबैभन्दा बढी सिद्धार्थ मिनरल्स प्रालिसँग करिब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ । यस कम्पनीका सञ्चालक पशुपति मुरारका हुन् ।
२.सर्वोत्तम सिमेन्ट लिमिटेड
सर्वोत्तम सिमेन्ट लिमिटेड सञ्चालक विष्णु प्रसाद न्यौपानेबाट बिगो दाबी १६ करोड ३१ लाख बिगो दाबी गरिएको छ ।
३. मारुती सिमेन्ट्स
मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालक शरद गोयलबाट २० करोड ५० लाख बिगो दाबी गरिएको छ ।
४.अन्नपूर्ण क्वेरिज प्रा.लि
अन्नपूर्ण क्वेरिज प्रा.लिका सञ्चालक ऋषि अग्रवालबाट ११ करोड १७ लाख बिगो माग दाबी गरिएको छ ।
५.उदयपुर मिनरल्स टेक प्रालि
उदयपुर मिनरल्स टेक प्रालिका सञ्चालक प्रवलजंग पाण्डेबाट १ करोड ७९ लाख बिगो माग दाबी गरिएको छ ।
६.युनाइटेड सिमेन्ट प्रा.लि
युनाइटेड सिमेन्ट प्रा.लिका सञ्चालक नरेश दुगडबाट ९ करोड ६९ लाख बिगो दाबी गरिएको छ ।
७.सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका सञ्चालक निपेश तयालका विरुद्ध ६ करोड ९८ लाख बिगो माग दाबी गरिएको छ ।
८.कञ्चन क्वेरिज प्रालि
कञ्चन क्वेरिज प्रालिका सञ्चालक भीमबहादुर थापा क्षेत्रीका विरुद्ध ३ करोड ८ लाख बिगो दाबी गरिएको छ ।
९.डोलोमाइट चुनढुंगा उद्योग प्रालि
डोलोमाइट चुनढुंगा उद्योग प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठका विरुद्ध ५ करोड ४३ लाख बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

९ वटा सिमेन्ट उद्योगका सञ्चालकहरु नेपालका ठूला व्यवसायीक घराना हुन् । उनीहरुले प्राकृतिक दोहन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले छानबिन गर्दा विभागका कर्मचारीले खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतको दोहन गरेको ठहर गरेको छ ।

९ वटा सिमेन्ट उद्योगबाट १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति लिनुपर्ने बताएको थियो । तर, २०७७ सालमा जयराज घिमिरेको संयोजकत्वमा पुनः अर्काे समिति बनाएर थोरै क्षतिपूर्ति लिएको थियो ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #खानी तथा भूगर्भ विभाग, #महानिर्देशक रामप्रसाद घिमिरे, #विशेष अदालत

तपाईको कमेन्ट लेख्नुहोस्