Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

के हो माओवादी केन्द्रमा साँस्कृतिक क्रान्तिको विषय ? हुन्छन् त नेताहरु रुपान्तरण


काठमाडौं । नेपालको राजनीतिक मार्ग परिवर्तनको अग्रणी मोर्चामा खटिएको नेकपा माओवादी केन्द्र अहिले विचार र सिद्धान्त मै अलमलिएको छ । मुलुकलाई समृद्ध बनाउने अभियानमा सर्वप्रथम आफैँ रुपान्तरित हुनु पर्छ भन्ने मान्यता भने माओवादी केन्द्र पलाएको छ । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत यो कुरा सहित आफुहरुले विगतमा बाटो विराएको स्विकार गरिएको छ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक राजनीतिक प्रतिवेदनमा साँस्कृतिक क्रान्तिको विषय उठान गरिएको छ ।

मंगलबार त्यो प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिहरु बीच छलफल भयो । त्यो प्रतिवेदनमा पार्टीको रुपान्तरणका लागि सबैभन्दा पहिले साँस्कृतिक क्रान्तिको आवश्यकता रहेको व्याख्या गरिएको नेताहरुले बताएका छन् । प्रचण्डले विगतमा भएको कमजोरीहरु स्वीकार्दै साँस्कृतिक रुपान्तरणको कार्यक्रम प्रतिवेदनमा उल्लेख गरेका हुन् । माओवादी केन्द्रलाई जोगाउने हो भने संस्कार र संस्कृति बदलिएर, पार्टीलाई पुनर्जीवन दिन आवश्यक रहेको नेताहरु बताउँछन् । त्यसका लागि माओवादी केन्द्र आन्तरिक रुपमै सुध्रिन जरुरी पनि छ ।

वैभवशाली जीवनको आदी बनिसकेका माओवादी केन्द्रका नेताहरुमा रुपान्तरण आउन सम्भव होला त ? माओवादी केन्द्रका भावी महासचिवका रुपमा हेरिएका जनार्दन शर्मा भने आफैँबाट यो विचार र कार्यक्रमको थालनी गर्ने दाबी गर्छन् । प्रतिवेदनको शीर्षक के हुन्छ भन्ने खुलाइएको छैन । तर, नाम जे दिएपनि प्रचण्डको चाहना माओवादी केन्द्रका नेताहरुमा व्यवहारिक सुधार नआएसम्म आफूले स्थापित गरेको राज्य व्यवस्था प्रणालीलाई व्यवस्थित बनाउन सकिँदैन भन्ने नै छ ।

यद्यपि राजनीतिक कार्यादेश एकातिर हुने, तर नेता–कार्यकर्ताको रहनसहन र जीवनशैली अर्कोतिर हुन थालेपछि आफैँबाट रुपान्तरणको खाँचो रहेकोमा प्रचण्डले केही दिनदेखि जोड दिइरहेका छन् । उनको विचारसँग समग्र माओवादी केन्द्रका नेता कार्यकर्ताको एकमत देखिन्छ । प्रचण्डपथ त्यागेसँगै लामो समयदेखि नीतिगत विषयमा दरिलो बन्न नसकेको कारण माओवादी केन्द्रले न संसदिय व्यवस्था कै सही उपयोग गर्न सक्यो नत विद्रोहलाई नै अगाडि बढाउन सक्यो । जसले गर्दा शान्तिपूर्ण राजनीतिमा आएसँगै बलियो दल बनेको माओवादी केन्द्र अहिले अस्तित्व कै लडाइँमा होमिएको छ ।

प्रष्ट छ, सांस्कृतिक रुपान्तरणका विषयलाई राजनीतिक अस्त्रका रुपमा उपयोग गर्दै जनताको मन जित्ने योजनामा प्रचण्ड छन् । कार्यकर्ता तहमा मात्रै रुपान्तरण ल्याएर मात्र माओवादी केन्द्रको क्रान्ति सफल हुन सक्दैन । त्यसैले वैभवशाली जीवनका आदि बनिसकेका प्रचण्डले नै सांस्कृतिक रुपान्तरणमा पहिलो पाइला नचालेसम्म उनको नीतिले सही बाटो समात्ने कल्पना गर्नु समेत बेकार छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #साँस्कृतिक क्रान्ति

तपाईको कमेन्ट लेख्नुहोस्