सत्ता गठबन्धनमै एमसीसीबारे फरक–फरक मत, देउवाले पाएनन् पास गर्ने साथ
सत्ता गठबन्धनमै एमसीसीमा सहमति जुट्न कठिन
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।
तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् ।
तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए । सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ ।
सत्ता गठबन्धनमै एमसीसीमा सहमति जुट्न कठिन
फरक फरक विचारधारा बोकेका पाँच राजनीतिक दलको सत्ता गठबन्धनमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन, एमसीसी सम्झौताको विषयलाई लिएर एकै धारणा बन्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा संसदको यही अधिवेशनमा एमसीसी सम्झौता पारित गराउन चाहन्छन् । तर, सत्तारुढ दलहरुभित्रै एकमत नहुँदा उनी अलमलमा परेका छन् । त्यही कारण प्रधानमन्त्री देउवाले सम्झौतालाई अगाडि बढाउन छलफललाई समेत तिव्रता दिएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन, एमसीसी सम्झौताले यतिबेला देशको राजनीति तातेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको यही हिउँदै अधिवेशनमा एमसीसीलाई अघि बढाउने गृहकार्य थालेसँगै सत्तामा रहेका दलहरुले नै फरक फरक धारणा सार्वजनिक गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्र एमसीसी सम्झौतालाई परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छ । सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रले पुसको दोस्रो साता हुने राष्ट्रिय सम्मेलनपछि मात्रै यस विषयमा स्पष्ट धारणा बनाउने भित्रि तयारी गरिरहेको छ । अर्काे सत्ता साभेदार दल नेकपा एकीकृत समाजवादी भने एसमसीसी सम्झौता संसदबाट पारित पास गर्नै नहुने अडानमा छ । जनता समाजवादी एमसीसी पारित गराउने पक्षमा छ । उता राष्ट्रिय जनमोर्चाले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने धारणा बनाएको छ । यद्यपि उनले यो सम्झौता संसदबाट नभइ अर्थ मन्त्रालयले नै कार्यान्वयनमा लैजान सक्ने बताइन् । साथै उनले संसदबाट पारित गराउने खेलले यो सम्झौताबाट भविष्यमा अमेरिकाले गलत फाइदा लिनसक्ने दाबी पनि गरिन् ।
गठबन्धन दलबाट फरक धारणा सार्वजनिक हुन थालेसँगै प्रधानमन्त्री देउवाले आइतबार सत्ता गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । त्यसैगरी संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहमति खोज्न पनि देउवाले सर्वदलीय बैठक बोलाए । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक नै बहिस्कार ग¥यो । जसका कारण उमसीसीमा राष्ट्रिय सहमति बनाउने प्रधानमन्त्रीको योजना समेत असफल बनेको छ । सत्तारुढ नेपाली काँग्रेसले भने प्रमुख प्रतिपक्षसहित सबै दललाई सहमतिमा ल्याएर संसदबाट एमसीसी सम्झौतालाई पारित गर्ने गृहकार्य भइरहेको जनाएको छ ।
नेपालको विकासको पक्षमा यो सम्झौता रहेको दाबी गर्दै काँग्रेसले राष्ट्रिय सहमति बनाउनुपर्नेमा जोड दिएको हो । एमसीसी सम्झौता लगायत संसद सुचारु गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मनाउन प्रधानमन्त्री देउवा यतिबेला दौडधुपमा छन् । तर एमाले भने आफ्नो पूर्ववत अडानबाट टसको मस भएको छैन । भित्रिरुपमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौतालाई अगाडि बढाउन साथ दिने वचन प्रधानमन्त्री देउवालाई दिएको बुझिएको छ । ओलीको समर्थनमा एमसीसी सम्झौता संसदबाट पारित भएको खण्डमा सत्तारुढ गठबन्धन मै संकट आउने परिस्थितिका कारण सरकारले तत्काल एमसीसी सम्झौता संसदमा पेश गर्ने सम्भावना न्युन देखिन्छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमसीसी
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्