राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन, ठ्याक्कै कांग्रेस महाधिबेशनमा मिल्यो
काठमाडौं । राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैनन् । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा यो भनाइ सत्य सावित भएको छ । हिजोसम्म शेरबहादुर देउवालाई सभापतिका रुपमा देख्नै नचाहने नेताहरु सभापतिका लागि भइरहेको दोस्रो चरणको निर्वाचनमा उनको साथमा उभिएका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको सहयोगसँगै देउवा दोस्रो पटक सभापति चुनिने सँघारमा छन् भने शेखर कोइराला सभापतिको दौडमा पछारिने कांग्रेसमा कोइराला विरासतको पहिलो सदस्य बन्दै छन् ।
नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी शेखर कोइरालाको चाहना चुनावी प्रक्रिया दोस्रो चरणमा पुगोस् भन्ने थियो । पहिलो चरणमा नै जित हात पार्ने रणनीतिमा रहेका शेरबहादुर देउवा मात्र ८२ मतका कारण दोस्रो चरणको चुनावी प्रक्रिया स्वीकार्न बाध्य भए । पहिलो चरणको नतिजा सार्वजनिक भए लगत्तै धेरैले अनुमान गरेका थिए, नेपाली कांग्रेसमा फेरि कोइराला विरासत फर्किँदै छ । किनकी सभापतिका अन्य उम्मेदवारहरुले चुनावी प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको खण्डमा देउवाको बहिर्गनमा एकजुट हुने बताएका थिए ।
चुनाव अगाडि सबैको एउटै नारा थियो, देउवाबाट पार्टी र सरकार चल्न सक्दैन भन्ने । राजनीति सीधा होइन बक्र रेखामा चल्छ भन्ने भनाइ त्यो बेला सत्य साबित भयो, जब पहिलो चरणमा तेस्रो धेरै मत ल्याएका प्रकाशमान सिंहले देउवालाई समर्थन जनाउने कुरा सार्वजनिक गरे । सिंहको समर्थन पाएपछि हर्षित बनेका देउवालाई सभापतिको चुनावको पहिलो चरणमा पराजित उम्मेदवार विमलेन्द्र निधि र कल्याङ गुरुङको समेत साथ मिल्यो । त्यही कारण हिजोसम्म देउवालाई जसरी भएपनि सभापतिमा दोहरिन दिनु हुँदैन भन्ने नेताहरुले नै यो मिलनलाई सुखद मानेका छन् ।
आफूबाट अलग भएका नेताहरुलाई फेरि आफ्नो समर्थनमा उभ्याउन सक्नु देउवाको राजनीतिक जित हो । भर्खरै उनको गुट छाडेका निधि र गुरुङ मात्र नभएर १२ वर्षपछि सिंहलाई समेत आफ्नो खेमामा फर्काउनु सक्नु देउवाको ठूलो सफलता बनेको छ । नेपाली कांग्रेसमा कोइराला विरासतमाथि धावा बोल्दै सभापति बनेका देउवाले एक दिन मै आफूलाई बलियो बनाएका भने होइनन् । ५० वर्ष टेक्दा नटेक्दै प्रधानमन्त्री बन्न सफल देउवा ७६ वर्षको उमेरमा अहिले प्रधानमन्त्रीका रुपमा पाँचौ कार्यकाल बिताइ रहेका छन् ।
दोस्रो कार्यकालका लागि सभापति बन्न उनलाई सत्ताले समेत साथ दियो । नेतालाई लोभ देखाउने हतियार बन्यो । पार्टीमा सधैँ आफ्नो विरोध गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइरालालाई समेत शेखरको समर्थनमा मौन बस्न लगाएर देउवाले राजनीतिक चातुर्यता पनि देखाएका छन् । जसले गर्दा पार्टी र सत्ताको मोर्चामा सधैँ असफल देखिने देउवा राजनीतिको मैदानमा भने माहिर खेलाडी साबित भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१४ औँ महाधिवेशन, #कोही पनि स्थायी शत्रु वा मित्र हुँदैनन्, #शेरबहादुर देउवा
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्