फेरि किसानलाई मल अभाव, ७० हजार मेट्रिक टन आउनै बाँकी
काठमाडौं । अहिले हिउँदमा गहुँ, आलु लगायत खेतीपातीको मुख्य सिजन हो । बजारमा रासायनिक मल नपाएर किसानहरु खेतीको सिजनमा हैरानी खेपीरहेका छन् । असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले हिउँदमा पनि मल नपाएका हुन् । गत आर्थिक वर्षहरुको तथ्याँकअनुसार हिउँदमा १ लाख मेट्रिकटन रासायनिक मलको बजार माग हुने गरेको छ । युरिया, डिएपी र पोटाससमेत गरेर ४५ हजार मेट्रिकटन मल मौज्दातमा रहेको र बाँकी ७० हजार मेट्रिक टन आयातित क्रममा बाटोमा रहेको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ ।
पोहोर परारको तुलनामा माग केही बढ्ने अनुमानका आधारमा रासायनिक मल बढी आयात गरिएको र बजारमा अभाव नहुने मन्त्रालयको दाबी रहेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धिका कारण समयमै आयात गर्न नसक्दा बजारमा भनेको समयमा मल आपूर्ति हुन नसकेको मन्त्रालयले स्विकार गरेको छ । तर, मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा हामी पुग्दा भरिभराउ हुनुपर्ने गोदाम खाली थियो । गोदामको अवस्थाले बताउँथ्यो कि बजारमा मलको चरम अभाव छ ।
चीनका नाकाबाट आउनुपर्ने मल कन्टेनर आउन नपाएका कारण गोदाम रित्तो रहेको त्यहाँका कर्मचारीको भनाइ रहेको थियो । तथ्याँक अनुसार नेपालमा प्रतिवर्ष ५ लाख २० हजार मेट्रिकटन मलको माग रहेको छ । बजेटमा छुट्याएको रकमअनुसार साँढे तीन लाख मेट्रिकटन मल खरिद गर्ने क्षमता मन्त्रालयसँग रहेको छ । बजेट अनुरुप मल किनिसकेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धिका कारण बजेट नै सक्किएको र बाँकी मल खरिदका लागि अर्थ मन्त्रालयमा बजेट माग गरेको कृषिले जनाएको छ ।
सरकारलाई भार बढेपनि मलको अभाव हुन नदिने मन्त्रालयको भनाइ छ । यता कसैले गैरकानुनी क्रियाकलाप गरेर वा अभावको बाहानामा बजारमा ठगी गरेको पाइए कारबाही हुने मन्त्रालयको चेतावनी छ । भारत, चीन, बंगलादेश, मोरक्को लगायत देशबाट जि टु जी सम्झौतामार्फत खरिद प्रक्रिया अगाडि बढाएको र किसानका लागि आवश्यक मल ल्याएर बजार मागअनुरुप आपूर्ति गरिछाड्ने सरकारी दाबी रहेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति
ट्याग : #गोदाम रित्तो, #मल नपाएर किसान
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्