बेलायतले दियो नेपाललाई बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक गोल्ड अवार्ड

काठमाडौं । कोरोना महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड पाएको छ । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।
लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) को अवसरमा एक समारोहका बीच उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको हो । सो अवार्डका लागि नोमिनेशन भएका नौवटा मुलुकलाई उछिन्दै नेपालले अवार्ड पाएको हो । पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छवटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्लुटिएममा सहभागी भएको बोर्डले जनाएको छ ।
बन्दाबन्दीको समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी सीसीएमसी, जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो । यस्तै बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइटमार्फत करिब पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड, #विदेशी पर्यटक
तपाईको कमेन्ट लेख्नुहोस्