Techie IT
  • २१ मंसीर २०७८, मंगलबार
KhojPatrika

राज्यका सबै अंग बेलगामको घोडा झैँ, जनताको आस्था र विश्वास भत्किदै


मुलुकको सारा राज्य संयन्त्र अहिले बेलगामको घोडा झैँ बनेका छन् । राजनीतिज्ञ, न्यायकर्मी, कर्मचारी सबैको नैतिकता दाउमा लागेको छ । राज्यका हरेक अंग राष्ट्रप्रति वफादार हुनुको सट्टा व्यक्तिगत स्वार्थमा रमाइ रहेका छन् । जब कानूनभन्दा पनि केही सिमित व्यक्तिको मनोमानीमा देश चल्न थाल्छ, त्यसपछि जनताले शासकिय स्वरुप र राज्य व्यवस्थामाथि नै प्रश्न उठाउनु स्वाभाविक बन्छ । अहिले राज्यको सबै अंग जनताप्रति जवाफदेही बन्न सकेका छैनन् । व्यक्तिगत स्वार्थका कारण विकास, निर्माण र समृद्धि नै बन्धकमा परेको छ । त्यही कारण हरेक विषयमा यो मुलुक पछाडि पर्दै गएको छ ।

दोस्रो जनआन्दोलनको बलले स्थापित राज्य प्रणाली र शासकिय स्वरुप नै यो देश लायक छैन कि भन्ने प्रश्न उठ्न थालेका छन् । अहिले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकादेखि कर्मचारीतन्त्र समेत दलीय र व्यक्तिगत स्वार्थमा अल्झिरहेका छन् । राज्यको कुनै अंग यस्तो छैन, जहाँ बिकृति र विसंगतिले जरा नगाडेको होस् । राजनीतिबाट सुरु भएको अस्थिरता अहिले न्यायपालिकासँग फैलिएको छ । प्रधानन्यायीसको बहिष्कार सर्वोच्च कै न्यायाधीसबाट हुन थालेको छ । जनताको आस्था र विश्वाससँग जोडिएको निकायमा प्रधानन्यायाधीस हटाउने र जोगाउने खेल खेल्न थालिएको छ । जसलाई कदापि सही मान्न सकिँदैन ।

न्यापालिकामाथि बाहिरियाबाट आक्रमण भएको खण्डमा एक स्वरमा त्यसको बचाउमा लाग्नु पर्ने न्यायमूर्तिहरु नै सडकमा ओर्लिन तयार रहेका दलका कार्यकर्ता झैँ बनेका छन् । पूर्व प्रधानन्यायीस फोरमले प्रधानन्यायाधीस चोलेन्द्र समसेर राणाको राजिनामा माग्नु, त्यसपछि सर्वोच्च अदालतका दुई तिहाइ न्यायाधीसले त्यो मागमा सहमति जनाउनुले यो खेलमा कुनै शक्तिको स्वार्थ र चलखेल छ भनेर बुझ्न कठिन हुँदैन । त्यसमाथि न्यायपालिकामा देखिएका कमीकमजोरीलाई कसरी नदोहराउने भनेर बोलाइएको फुल कोर्टलाई नै बहिष्कार गर्नु न्यायाधीस जस्तो गरियामय पदलाई शोभा दिने विषय हुनै सक्दैन ।

जुन संस्था न्याय, समानता र विवादको निकास दिन बनेको छ, जहाँ जनताको आस्था र विश्वास जोडिएको छ, त्यही संस्थाका विद्धान न्यायाधीसहरु दलका हुल्लडबाज कार्यकर्ता झैँ बनिदिँदा मुलुकलाई असफलता तिर धकेल्छ भनेर भनि रहनु पर्दैन । राजनीति अस्थिर भएको बेला न्यापालिकाले स्वार्थसिद्ध गर्ने अनेकौँ अवसर पाएको छ । हरेक राजनीतिक विवादलाई अदालतको ढोकासम्म लैजाने प्रवृतिले नै अदालतलाई स्वार्थी पनि बनाइ रहेको कुरा दल र नेताले समेत बिर्सन मिल्दैन । राज्यको हरेक अंग नैतिक आचरणमा बाँधिनका लागि सबैभन्दा पहिले राजनीतिक संस्कार सहि बन्नु पर्छ ।

जुन हाम्रो देशका नेता तथा दलमा कहिल्यै देखिएन । प्रतिपक्षीको विरोधका कारण संसद सुचारु हुन सकेको छैन । अस्थिर राजनीतिका कारण अदालतले सरकारमा समेत भाग माग्ने हैसियत बनाएको छ । मुलुकको राजनीति स्थिर रुपमा अघि बढ्ने हो भने सबै निकाय आफ्नो कार्य क्षेत्रभन्दा बाहिर आउन सक्दैनन् । राज्य संचालनमा बार्गेनिङको प्रथा पनि चल्न सक्दैन । अनि न्यायपालिका र राजनीतिको स्वार्थ बाँझिदा हुने लेनदेन र चलखेल पनि हुन सक्दैन । अहिले प्रधानन्यायाधीसले राजिनामा दिँदैमा न्यायपालिकामा रहेका सबै विसंगतिको अन्त्य हुन्छ भन्नु मुर्खता सिवाय केही होइन ।

व्यक्ति हट्लान् तर विकृत संस्कारको बिँडो उठाउने अर्को व्यक्ति त्यही न्यायालयबाटै निस्कने छन् । यस्ता विसंगतिबाट पार पाउन सबैभन्दा पहिले राजनीति नै इमान्दार र स्थिर बन्नु पर्छ । भर्खरै बामे सर्दै गरेको गणतन्त्रलाई जोगाउने हो भने राजनीतिक स्थायित्वका लागि पहल गर्न अब ढिला भइसक्यो । त्यसका लागि जनतासँग नयाँ म्यान्डेट माग्नुको विकल्प अब छैन । आखिर यसरी कहिलेसम्म चल्न सक्ला र यो मुलुक ? कसरी हुन सक्ला राज्यको हरेक तप्कामा जरा गाडेर बसेको विसंगतिको अन्त्य ?


क्याटेगोरी : राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #चोलेन्द्र समसेर राणा, #बेलगामको घोडा झैँ

तपाईको कमेन्ट लेख्नुहोस्