Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

किन दिए भिम रावलले राजीनामा, नेताहरुले रोक्दा रोक्दै सभामुखलाई बुझाए पत्र


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरे ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने जिकिर गरेका छन् । उनले यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु’ राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

एमालेको एकता जोगाउन कार्यदलमार्फत् जुटाएको दशबुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत जनाएका थिए । कार्यदलमा रहेका नेताहरुले नेता नेपालको निवास कोटेश्वर पुगेर दश बुँदे सहमतिमा उभिएर एकता जोगाउन आग्रह गरेका थिए । तर, माधव नेपाल सहमत भएका थिएनन । आफूहरुले गरेको सहमति स्वीकार गर्न माधव नेपाल तयार नभएपछि रावलले राजीनामा दिएको बताइएको छ । रावलको राजीनामा रोक्न माधव समूहका नेताहरु लागि परेका थिए ।

उपाध्यक्ष रावल संसद् सचिवालयमा राजीनामा बुझाउन जाने भएपछि त्यसअगाडि नै नेताहरु राजीनामा रोक्न पुगेका थिए । संसद् सचिवालयबाट निस्किएर सभामुखलाई राजीनामा बुझाउन जाने क्रममा पत्रकारहरुसँग रावलले राजीनामा घोषणा गरेका थिए । राजीनामा पत्र पढ्ने क्रममा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए । तर, रावलले पत्रकारसँग बोल्न दिन भन्दै झर्किएका थिए । रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास असफल भएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति
ट्याग : #एमालेका उपाध्यक्ष भीम रावल

तपाईको कमेन्ट लेख्नुहोस्