Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

किन सक्रिय बन्दैछन् माओवादी केन्द्र खारेज गर्न पूर्व माओवादी नेता

अवसरवादी र अनैतिक तत्वले पार्टीलाई बदनाम गराउन खोजे : माओवादी


काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् । शुक्रबार पूर्व माओवादी नेता टोपबहादुर रायमाझी लगाएतका नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन् । माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो निर्वाचन आयोगले खारेज गर्नुपर्ने उनले बताए । उनले तोकिएको समयमा महाधिवशेन नगरेर माओवादी पार्टी अवैधानिक भएको भन्दै अवैधानिक पार्टीले बैधानिक जनप्रतिनिलाई कारवाही गर्नु असंवैधानिक रहेको रायमाझीले जिकिर गरे ।

पार्टी विधानविपरीत अनुशासनहीन र मनपरी ढंगले चलिरहेको हुनाले नियमानुसार अवैध पार्टी खारेज हुनुपर्ने उनको भनाई छ । माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनमा २०७१ देखि माओवादी केन्द्रको महाधिवेशन नभएको दावी गरिएको छ । दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले थालेको प्रक्रियाका बारेमाा जानकारी लिन रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरु आयोग पुगेका हुन् ।

यसैबीच नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको भन्दै अवसरवादी र अनैतिक तत्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएका हुन् । माओवादी केन्द्रले पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हरकत गर्नु हास्यास्पद भएको बताएको छ । निवेदन दर्ता गरेर अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगर्न पनि माओवादी केन्द्रले आयोगलाई आग्रह गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्व माओवादी नेता, #माओवादी केन्द्र खारेज

तपाईको कमेन्ट लेख्नुहोस्