Techie IT
  • ६ कात्तिक २०७८, शनिबार
KhojPatrika

राजनीतिमा स्वार्थ मिल्दा सबै ठिक, नभए आरोप–प्रत्यारोप


पुस ५ गतेपछिको राजनीति यसरी धुमलिइएको छ कि सत्तारुढ दल नेकपाका बिभाजित नेताहरुले एकअर्काप्रति कहिल्यै नमेटिने गरी हिलो छ्यापाछ्याप गरिरहेका छन् । पहिले हाम्रो एक नम्बर अध्यक्ष भन्ने नेताहरु अनि राजनीतिमा त्याग तपस्या गरेका हाम्रा नेताहरु भन्ने अध्यक्ष नै कमेडियन शैलीमा चरित्र हत्या गरिरहेका छन् । बिभाजित नेकपाका नेताहरु जहाँ पुग्छन् त्यहाँ ताली बजाउने नेताहरुको कुनै कमी छैन् । टक्कर दिने नेताहरुको भाषणमा कत्तिपनि कमी देखिदैन् । देशका समस्या के छन् कुनै वास्तै छैन् घण्टौं ओलीले प्रचण्ड, माधव र झलनाथको खोइरो खन्न सक्ने । कार्यकर्ताले ताली बजाउने र हुटिङ गर्नेगरी चर्को स्वरमा आरोप लगाउन सक्ने प्रधानमन्त्री ओली ।

अर्कोतिर ओलीको कटाक्ष गर्ने प्रचण्ड, माधव र झलनाथको पनि स्वर कहाँ कम छ र ? पार्टी बिभाजनपछि सडकमै आएका उनीहरु न कुर्सी चाहियो न त चकक्टी नै । बालुवाटार हुँदा जनताको मुद्धामा कहिल्यै बहस गरेनन् । बरु कुर्सीको स्थान नमिलेको, कुर्सी पनि थरिथरि राखिएको, छेउमा टेबुल नराखिएको बिषयमै जनतालाई झुक्याउदै घण्टौ छलफल गरेका रहेछन् । बल्ल पो थाहा भयो प्रचण्डको कुर्सी ओलीले हटाए अरे माधव कुर्सी लिएर अगाडि मञ्चमै पुगे अरे ।

आफनो पोल अहिले आफै दैनिक आफनै समूहका नेताहरुलाई सुनाइरहेका छन् । ती कार्यकर्ता पनि कस्ता त्यहि कुरा सुनेर ताली बजाइरहेका छन् । हरे राजनीति । यो एक बर्ष नेकपाका शिर्ष नेताहरुबीच स्वार्थ मिलेको भए यतिबेला देशको राजनीतिमा यो हविगत पक्कै देख्न पाइने थिएन होला । जनताले अब देश कता जाला, के होला भनेर सोच्नुपर्ने समय पनि आउदैनथ्यो होला । तर, लोभी पापीको स्वार्थले भैदियो अर्कै । सत्ताको कुर्सी आफनो हातबाट फुत्कीने चाल पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नै भंग गरिदिए । ओलीलाई हटाएर कोही पार्टी अध्यक्ष कोही प्रधानमन्त्री र कोही राष्ट्रपति बन्ने इच्छा ओलीले तुहाइदिएपछि सडक संघर्षको साहारा लिनुपर्ने आइलाग्यो ।

कोही सत्तामै टिकिरहन कोही सडकमै आएपनि दुख पाउने तिनै जनता यो कमेडियन हेर्न बाध्य छन् । ओली अहिलेको अवस्थाको सबै दोष प्रचण्डमाथी थोपरेर आफूलाई देश र जनताको नायक भएको जसरी उभ्याउन खोज्दैछन भने प्रचण्ड–नेपाल पक्ष उनै ओलीलाई खलनायकका रुपमा चित्रण गरिरहेका छन । देशमा सम्बैधानिक संकट उत्पन्न भएको चिन्ता र निकास कसरी खोज्ने भन्दा एकअर्का बिरुद्धको मनमुटाव पोख्ने थलो बनेका छन्, नेकपाका दुई गुटका भेला, बैठक तथा सभा । केन्द्र नेकपामा मात्रै होइन यो रोग सल्झिदै प्रदेशसम्म पुगिसकेको छ । ओली गुटलाई प्रचण्ड–माधवको समूहले कारवाही गर्ने, प्रचण्ड–माधवको समूहलाई ओलीपक्षले निष्कासन गर्ने यो होडबाजी अझै रोकिएको छैन् । बाग्मती, प्रदेश १ र २ मा समेत यो खेल सुरु भइसकेको छ ।

गुटको समर्थनमा लाग्नेलाई छानीछानी कारवाही गर्ने नेताहरुले आफै अर्को गुटको हुँ भन्ने चाँहि बिर्सेका पक्कै होइनन् होला ? अव यो कसरत नेकपामा जिल्ला हुदैं स्थानीय तहसम्म पुग्नेछ । यहि आरोप–प्रत्यारोपको खेलले संसद विघटनपछि नेकपाका आफुलाई शिर्ष नेता दाबी गर्नेहरुको असली रुप झर्लङग देखाइदिएको छ ।

हुन त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र पनि नेताहरुको उस्तै स्वार्थगत आकांक्षा छ । जसपा, राप्रपा पनि के कम एकअर्कालाई नेता स्विकार्न तयार नहुँदा भागबण्डामै पार्टीको एकिकृत रुप देख्न पाइएको छ । भागबण्डा र पद मिल्दा सब ठिक शिर्ष नेताहरुको चित्त नबुझ्दा देश र जनता नै समस्याको सामना गर्न बाध्य हुनुपर्ने फोहोरी राजनीतिक संस्कार अब सच्याउन आवश्यक छ । नेकपाभित्रको किचलो र सडकमा पोखीएको आरोप प्रत्यारोप अन्त्यका लागि राजनीतिकर्मीमा सधैं सिकाई बनोस् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #नेताहरु, #राजनीतिमा

तपाईको कमेन्ट लेख्नुहोस्