Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

कोरोना नियन्त्रण भन्दा पनि नेताहरुलाई गुटगत भेलातिर ध्यान


कोरोना महामारीले जनता घरमै छटपटाई रहेका छन् । अस्पतालमा खाली बेड राखेर कोरोना संक्रमितलाई गेटबाटै फर्काइन्छ । अभिभावकले अस्पतालमा बेड खोज्दै फोन गर्दा गर्दै विरामीको ज्यान नै जान्छ । ९ महिना कोरोनासँग जुधेर सेवामा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकले तलव, भत्ता पाएनौं भन्दै राजिनामा दिएर आन्दोलन गर्नुपर्छ । सुरक्षाकर्मीको तलव काटेर ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा राखिन्छ । कोरोना महामारी भित्रिने आकलन गर्दै गर्दा कर्मचारी, सांसद ब्यवसायीले कोरोना उपचार कोषमा सक्दो सहयोग गरेकै हुन् ।

प्रधानमन्त्री निवास पुगेरै चेक हस्तान्तरण गरेकै हुन् । तर, जनताको उपचार गर्दैन मरे मरुन भन्ने संघीय नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको त्यो पनि दुई तिहाईको कम्युनिष्ट सरकारले अझै लाज पचाएकै छ । रोक, शोक र भोगमा तड्पीरहेका जनतामाथि सरकार आफै पिडामा झन पिडा थुपारीरहेछ । कोरोना संक्रमण र मृत्युदर घटेको छैन । सरकार भन्छ आफै कोरोना परिक्षण र उपचार गर । नसक्ने भए सरकारले गर्छ । उपचार गर्ने ठाउँ नै नपाउने अवस्था भइसक्दा कहाँ, कसरी, कसले गर्छ उपचार । त्यसको कुनै टुंगो छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ स्वास फेर्न गाह्रो भए र बेहोस भए मात्रै अस्पताल आउनु । नत्र घरमै बस्नु । अरे स्वास्थ्यमन्त्री ज्यु मलाई स्वास फेर्न गाह्रो भयो म बेहोस हुने अवस्थामा पुगे ।

मलाई कोरोनाको लक्षण छ भनेर कुन अस्पतालमा जाने ? यहा त कुनै अस्पतालले पनि बेड खाली छैनन् भनीरहेका छन् त ? बारम्बार कोरोना संक्रमितहरु भनिरहेका छन् साच्चीकै सोचेझै कोरोना रैनछ । सजग बनौं भनिरहदा सरकारको पछिल्लो काम त झनै शुन्य छ । कहाँ कति बेड थपिए ? कुन अस्पतालले कति बेड लुकायो खै अनुगमनका लागि बनाइएको समितिको लेखाजोखा । अझ जनताको उपचार राज्यले गर्नुपर्छ भन्दै सर्बोच्च अदालतले सरकारका नाममा आदेश दिनुपर्ने ? त्यहि आदेश मान्दैन जनताको उपचार निशुल्क गर्दैन भन्दै फेरि पुनरावलोकनका लागि सरकार नै अदालत जानुपर्ने ।

जनताका लागि राजनीति गर्छु भन्नेहरुले अलिकति लाज बचेको छ भने राज्यको सम्पूर्ण संयन्त्र प्रयोग गरेर अन्तिम समयसम्म सरकारले उपचार खर्च ब्यहोर्छ कोही डराउनुपर्दैन भन्ने अवस्थामा सरकार पुग्नुपर्छ । कोरोना परीक्षण र उपचारको शुल्क लिन पाउनु पर्ने माग गर्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि निःशुल्क हुनु पर्ने हो । तर, अझै सरकारले परीक्षण र उपचार निःशुल्क गर्न आलटाल गरेको छ । सर्बैसर्वा मै हुँ भन्ने दम्भ सरकारले देखाइरहेको छ ।

जनताको चिन्ता भन्दा पनि यहाँ हरेक पल कहाँ पार्टीको गुटगत भेला भयो ? मेरो लागि कहाँ षडयन्त्र भइरहेको छ भन्ने चासोमै सत्तापक्षीय दल फनफनी घुमिरहदा प्रतिपक्षी दल नेपाली कांग्रेस निदाएझै गरिरहेको छ । जनता रोगले छटपटाई रहेका छन् कोही बालुवाटार,कोही धुम्बाराही कोही बुढानिलकण्ठ त कोही कसैले थाहा नपाउने गरी छलफल गरिरहौं । गुपचुपमा तातो सुप खाइरहौं । कोरोनाले जनता मात्रै भन्ने छैन् नेताहरुको घरदैलोमा समेत पुग्दा तपाईहरुलाई थाहा हुनेछ गल्ती गरिएछ । गल्ती महसुस गर्दा धेरै ढिला भइसकेको हुनेछ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #कोरोना महामारी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं