कहाँ चिन्छ र कोरोनाले, तिमी नेता हौं भन्ने

रोगले न धनी भन्छ न त गरिव नै भन्छ । न जनता भन्छ न त नेता नै भन्छ । हो यो दृष्टान्त अहिले प्रमाणित भएको छ । विश्वको शक्तिशाली मुलुकका राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तत् कोरोना महामारीबाट ग्रसित बने । यी उनै ट्रम्प हुन् जसले कोरोनालाई चिनियाँ भाइरस भन्दै आफना नागरिकलाई माक्स नलगाउन सुझाव दिएका थिए । तर, उनै ट्रम्प अहिले आफू स्वयम् माक्स मात्रै लगाउने होइन राष्ट्रपति निवास छोडेर अमेरिकी सैनिकको अस्पतालको आइसुलेसनमा बसेर फर्किएका छन् । ट्रम्प सहित विश्वका १४ देशका राष्ट्र प्रमुख तथा उच्च ओहोदाका ब्यक्तीहरुलाई कोरोना संक्रमण भइसकेको छ ।
अव सन्दर्भ आफ्नै देश नेपालको । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भगाउन बेसार पानी खानेदेखि गुज्रोसम्मको खुबै बखान गर्दै पटक पटक आम सर्वसाधारणलाई सुझाव दिदै आएका थिए । तर, विडम्बना उनै प्रधानमन्त्रीलाई सुझाव दिने सल्लाहकार नै कोरोनाले थला परेका छन् । त्यो पनि एक जना मात्रै होइन चार चार जना सल्लाहकारलाई प्रधानमन्त्री ज्यू ले बेसार पानी र गुज्रो खानुस भनेर हाचच्छू गर भन्न पो बिर्सेका थिए की रु अनि प्रधानमन्त्रीको सुरक्षामा अहोरात्र खटिने ५ दर्जनभन्दा बढी सुरक्षाकर्मी पनि कोरोना संक्रमित भई कोही आइसुलेसन त कोही उपचाररत छन् ।
अझ् भन्नु पर्दा प्रधानमन्त्रीको सरकारी निवासमा कोरोना छिरेको छ । गरिव, असहाय, बैदेशिक रोजगारीबाट फर्किएका र साधारण जनतालाई कोरोना संक्रमण हुँदा सिटामोल समेत नपाउने अवस्थामा पुगेको बेला भिआईपी भिभिआईपीलाई कोरोनाले थला पारेपछि कस्तो हुँदो रैछ भन्ने त अव सिधैं प्रधानमन्त्रीलाई जानकारी हुने नै भयो । हुन पनि एकै समय बालुवाटार र सानेपा छिरेको कोरोनाले नेपालको राजनीतिक दलका गतिविधिलाई ठप्प पारिदिएको छ । एक्लौटी रुपमा बिभिन्न देशका राजदुत नियुक्त गरेर विवादमा परेका प्रधानमन्त्री ओलीलाई सचिवालयभित्रैका दर्जनौंमा कोरोना संक्रमण भएपछि केही समयलाई भएपनि हाइसन्चो भने भएकै छ ।
उता प्रमुख प्रतिपक्ष दलका नेताहरुमा कोरोना संक्रमण देखिएसँगै नेपाली कांग्रेसले ५ दिन पार्टी कार्यालय सानेपा नै बन्द गरिदिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई पनि हाइसन्चो भएकै होला । बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुले सभापति देउवालाई एक हप्ते अल्टिमेटम दिई निद हराम गराइ रहेका बेला सानेपामा कोरोना छिर्नुले सभापति देउवा केही दिन चयनको निद्रा सुत्नेछन् । यसरी प्राकृतिक प्रकोप र रोग कसैका लागि प्रिय हुँदैनन् न त यी कसैका शत्रु हुन्छन् न त मित्र नै हुन्छन् । त्यसैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउँदै माक्स लगाइराख्ने, नियमित सावुन पानीले हात धुइराख्ने,विना काम लुखुर लुखुर बजार तिर नधाउने, भौतिक दुरी कायम गर्न सक्यौ भने तपाई हामी सबै कोरोनाबाट बच्न सकौला । होइन भने हाम्रो पनि त्यहि नियती हुनेछ ।
दिनदिनै संक्रमितको संख्या देशभर तीब्र गतिमा बढिरहदा उपचार गर्नका लागि अस्पतालहरुमा शैयाको अभाव हुन थालिसकेको छ । कोरोनाका लागि छुट्याईका सरकारी अस्पतालहरुका आइसियू, भेन्टिलेटर र जनरल वार्ड समेत भरिसकिएका छन् । निजी अस्पतालमा पनि आइसियू र भेन्टिलेटर पाउन धौ धौ हुने अवस्था सिर्जना भइसकेको छ । एक दिनकै लाखौ रकम तिर्नुपर्ने निजी अस्पताल निमुखा जनताका लागि आकाशको फल मात्रै हुनेछन् । किनकी त्यहा त संक्रमित भिआईपी र भिभिआईपीलाई नै स्थान सुरक्षित हुन्छ । हामी यत्ति भन्छौं आफू पनि बचौं अरुलाई पनि बचाऔं । सुरक्षित बनौं सचेत रहौं ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #आइसियू, #चिनियाँ भाइरस, #भेन्टिलेटर र जनरल वार्ड
तपाईको कमेन्ट लेख्नुहोस्