Techie IT
  • ३० माघ २०८१, बुधबार
KhojPatrika

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४२औं स्मृति दिवस


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवस आज मनाइदैछ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । १५ असार १९ सय ८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।
माधव नेपाल भन्छन् पार्टीमा म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभियौं
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन नेता तथा काउर्यकर्तालाई अपिल गरेका छन् । ४२औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य भएको बताएका हुन् ।

अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका नेपालले बिज्ञप्तीमा उल्लेख गरेका छन् । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुने नेता नेपालले बताएका हुन् । पुष्पलालले स्थापना गरेका पदचिन्हहरूमा दृढतापूर्वक हिँड्न सकेकै कारण आफूहरुले नेपालमा ऐतिहासिक परिवर्तनहरू गर्न सकेका उनले उल्लेख गरेका छन् ।

कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरूबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरू सधैँ मार्गदर्शनका रुपमा रहने उनले बताएका छन् । नेता नेपालले संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको दाबी गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पुष्पलाल श्रेष्ठ

तपाईको कमेन्ट लेख्नुहोस्