Techie IT
  • २४ वैशाख २०८२, बुधबार
KhojPatrika

हुनै सकेन विकास खर्च


काठमाडौं ११ मंसिर । बलियो र स्थीर सरकार भएमा विकासले प्रगतिको फड्को मार्ने अपेक्षा थियो । तर दुइतिहाइ बहुमतको सरकार भएर पनि अहिलेको सरकारले पनि विकास बजेट खर्च गर्न सकेको छैन । अहिलेसम्मको अवस्था हेर्दा त्यो निराशाजनक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक निर्देशन दिए पनि मन्त्रालय र सम्बन्धित विभागले कार्यान्वयन गर्न नसक्दा पूँजीगत खर्चको अबस्थामा सुधार हुन सकेको छैन । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत खर्च गर्न सकेको छैन । मन्त्रालयले तीन महिनामा ३२ अर्ब रुपैयाँ बराबरको काम गर्ने लक्ष्य लिएको थियो । तर राष्ट्रिय योजना आयोगमा पेश गरेको विवरणमा सो मन्त्रालयले ९ अर्ब रुपैयाँ मात्रै खर्च गरेको उल्लेख छ । भौतिक योजनाले लक्ष्यभन्दा २३ अर्ब रुपैयाँ कम खर्च गरेको छ । सो मन्त्रालयले चालु आर्थिक वर्षमा एक खर्ब ४२ अर्ब बजेट पाएको छ । अरु मन्त्रालयको विकास खर्च पनि उल्लेखनीय देखिँदैन । परराष्ट्र मन्त्रालयले ० दशमलव ८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । त्यसैगरी श्रम मन्त्रालयले २ प्रतिशत मात्रै खर्च गरेको छ । रक्षा, शिक्षा, गृह, वन तथा वातावरण, ऊर्जा मन्त्रालयको खर्च समेत नगन्य छ । कृषि मन्त्रालयको खर्चको अवस्था सबैभन्दा कमजोर रहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले पुँजीगत शीर्षकतर्फ १८ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । उक्त खर्च चालु आर्थिक वर्षका लागि विनियोजित पुँजीगत बजेटको ४ दशमलव ४१ प्रतिशत हो । चालु बजेटमा पुँजीगत शीर्षकअन्तर्गत ४ खर्ब ८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । चालु आवको पहिलो तीन महिनाको पुँजीगत खर्च गत आवको यही अवधिको तुलनामा करिब ४ अर्बले कमी हो । सरकारले गत आवको असोज मसान्तसम्म ७ दशमलव १९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो । गत आवको बजेटमा ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विकास बजेट विनियोजन गरिएकोमा पहिलो तीन महिनामा २२ अर्ब ५९ करोड रुपैयाँ खर्च गरिएको थियो । अर्थमन्त्री युवराज खतिवडाले पुँजीगत खर्च बढाउने प्रतिबद्धता जनाएपनि सो अनुसार काम भने हुन सकेको छैन । अर्थ मन्त्रालयलले साउन १ गतेबाटै खर्च गर्नसक्ने गरी बजेटको अख्तियारी पठाएको थियो । पुँजीगत खर्च कम हुनु भनेको विकास आयोजनाको कामले गति लिन नसक्नु हो ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #हुनै सकेन विकास खर्च

तपाईको कमेन्ट लेख्नुहोस्