Techie IT
  • ३० जेठ २०७८, आईतबार
KhojPatrika

बढ्दै सक्रिय कोरोना संक्रमितको संख्या,अक्सिजन र बेडको हाहाकार


काठमाडौं । आम जनतालाई रुवाउने हृदयविदारक दृश्यहरु केही समय अघिसम्म छिमेकी मुलुक भारतका विभिन्न शहरहरुमा देखिन्थे । तर अहिले हामी नै देख्न र भोग्न बाध्य छौँ । अझपनि जनस्वास्थ्य विज्ञहरु भनिरहेका छन्, तत्काल अस्पतालहरुमा बेड, आईसीयू, भेन्टिलेटरलगायत सुविधा थप्ने र अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा जोहो गर्न नसक्ने हो भने कोभिड–१९ को संक्रमण थप भयाबह हुन्छ । सामान्य अवस्थामा नै स्रोत साधन र जनशक्तिको सिमितता रहेको जान्दा जान्दै र कोरोनाको दोश्रो लहरको महामारीको बेला स्वास्थ्य पूर्वाधार अपर्याप्त हुन्छन भन्दै पूर्व तयारीमा जुट्न विज्ञहरुले सरकार र सरोकारवालालाई सुझाब अनि चेतावनी दिदा समेत बेवास्ता गरिनु गम्भिर लापरबाही हो ।

नागरिकको जीवजमाथी यस्तो बेला महामारीविरुद्ध लड्न सिंगो राज्यको स्रोत साधन लगाउनुपर्छ । योजनावद्ध अनि तीव्र गतिमा काम गर्नुपर्छ । तर देशका अधिकांश अस्पतालमा आफन्त बचाउन हारगुहार गरिरहेका नागरिकले अक्सिजनको समेत हाहाकार झेल्नुपर्दा सोध्न थालेका छ, के देशमा सरकार छ र ? हो, काठमाडौं उपत्यकासहित देशभरका अस्पतालमा देखिएको बिरामीको भीडभाड, जीवन रक्षाको हारगुहार अनि अक्सिजनमा चल्दैआएको तछाडमछाड देख्दा हामी पनि यतिबेला देशमा सरकार र ? भनेर प्रश्न गर्न बाध्य भएका छौँ । एकपटक देशका विभिन्न अस्पतालमा पुगेर निरास हुँदै फर्किनुपर्ने बिरामीको अवस्था र अक्सिजनको हाहाकार बनेको छ । दृश्यहरुले हरेक नागरिकलाई भाबुक बनाएको छ । तर यतिबेलासम्म पनि सरकार भाबुक बनेको छैन । बरु नेताहरु अहिलेपनि जनताको जीवन रक्षाको मानविय दायित्वलाई पन्छाउँदै सत्ता स्वार्थको राजनीतिमै अल्झिएका छन् ।

कतिपय जनस्वास्थ्यविद् भनिरहेका छन्, ‘संकटमा आम नागरिकलाई सरकार चाहिएको छ, तर यही बेला मुलुकमा सरकार छैन ।’ हो देशभर बेड र अक्सिजन नपाएका नागरिकहरुको चित्कार सुन्दा र सुनाउनुपर्दा हामीलाई पनि यस्तै अनुभुति भैरहेको छ । कोरोनाका बिरामीले यतिबेला देशैभरका अस्पताल भरिभराउ छन् । बेड मात्रै होइन, छिंडी र पिंढीमा समेत संक्रमितलाई राखेर दिनरात नभनि उपचारमा खटिएका छन्, स्वास्थ्यकर्मीहरु । सामान्य बेड पाउनै मुस्किल भएको यो समयमा आईसीयू र भेन्टिलेटर त झन् खाली हुने कुरै छैन । उल्टै यति बिरामी भर्ना लिन्छु उति बिरामी भर्ना लिनसक्ने पूर्वाधार छ भन्ने अस्पतालहरु नै अक्सिजनको अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसक्ने सूचना टास्ने प्रतिस्पर्धा गरिरहेका छन् ।

संक्रमितले उपचारका लागि अस्पतालमा बेड र अक्सिजन नपाउँदा मृत्युदर पनि उच्च बन्दैछ । यो कहालीलाग्दो अवस्थामा संक्रमितलाई उपचार दिलाउन के उपाय अपनाउन सकिन्छ भन्नेबारे जनस्वास्थ्यविद् र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले छलफल नै थालेको छैन । आखिर कहिलेसम्म सत्ताको खेलमा सरकार अल्मलिने अनि जनताको जीवनभन्दा राजनीतिक जित–हारको जोड–घटाउमा राजनीतिक दलहरू ब्यस्त ? नागरिक स्तरमा प्रश्न उठ्न थालेको छ । स्वास्थ्य पूर्वाधार र जनशक्ति जुटाएर नागरिकको जीवन रक्षामा लाग्नुपर्ने प्रधानमन्त्री सभाहल उद्घाटनमा व्यस्त छन् । हजारौं अटाउने सभाहल महामारीमा काम नआउने भन्दै अक्सिजन र बेड राखेर संक्रमितको उपचारमा उपयोग गर्नुपर्ने सुझाब समेत कतिपयले दिइरहेका छन् । कोरोना महामारिले भयावह रुप लिदैगर्दा संक्रमितको उपचारमा खटिएका चिकित्सकहरु नै भनिरहेका छन्, संक्रमितको ज्यान बचाउन तत्काल ठूला अस्थायी उपचार केन्द्र बनाउनुपर्छ । यतातिर पनि सरकारको ध्यान पुग्न सकिरहेको छैन ।

सरकारको तथ्यांकलाई हेर्दा कोरोना संक्रमित ८० प्रतिशत बिरामी होम आइसोलेसनमा गम्भीर अवस्थामा नपुगी ठीक भएको देखिन्छ । १५ देखि १८ प्रतिशत संक्रमितलाई अक्सिजन थेरापी नै आवश्यक पर्ने र ३ देखि ५ प्रतिशत संक्रमितलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने गरेको देखिएको छ । तर थोरै संक्रमितमै गम्भिर समस्या देखिदा पनि अस्पतालमा बेड नपाएर, सास फेर्न अक्सिजन नपाएर जनता छट्पटिंनुपर्ने अवस्था छ, यस्ता हृदयबिदारक दृश्यहरु घट्ने होइन बढ्दो क्रममा छन् । चीन, बेलायत र अमेरिकाले केही दिनमै अस्थायी संरचना बनाएर कोरोना महामारि नियन्त्रणमा आंशिक सफलता पाएका छन् ।

लामो समयसम्म पूर्वाधार र जनशक्ति जुटाउने पूर्वतयारीको समय पाएर पनि सरकारले बेवास्ता गरेको भन्दै यतिबेला आलोचना भैरहेको छ । आखिर महामारी रोक्न सरकारले के गर्नुपर्छ त ? सेनासहित निजी क्षेत्रको सहयोग लिएर युद्धस्तरमा ठूला अस्थायी उपचार केन्द्र बनाउन सकिएमा त्यहाँ दिइने अक्सिजनसहित सामान्य चिकित्सकीय उपचारको सुविधाबाट पनि धेरै संक्रमितलाई जटिल संक्रमण हुनबाट बचाउन सकिन्छ । अझ आपत्तकालिन रुपमा शहरका विभिन्न भागमा बन्दै गरेका ठूला सरकारी भवन, बनिसकेका मेडिकल कलेजका खाली भवन र होटलहरूलाई पनि उपचार केन्द्रका रूपमा प्रयोग गर्न सकिन्छ । निर्माणको अन्तिम चरणमा पुगेका सरकारी तथा सामुदायिकसहित निजी ठूला भवनमा अहिले बेड र अक्सिजनको व्यवस्थापन गरेर उपचार शुरु गर्न सकिने भएपनी सरकारले यतितिर ध्यान दिन सकेको छैन ।

साँचै नागरिकले बेड र अक्सिजन नपाएर जिवन गुमाउनुपरेको हृदयविदारक दृश्य अनि आफन्तको चित्कार सरकारले देख्थ्यो अनि सुन्थ्यो भने कोरोना संक्रमित मात्रै राखेर उपचार गराउने अक्सिजन प्लान्टसहितका अस्थायी उपचार केन्द्र एक हप्ताभित्रै बनाइन्थे र बन्थे । अनि बचाउन सक्ने उपायहरु हुँदा हुँदै राज्यको हेलचेक्राईबाट मारिएका नागरिकको शबदाहमा समेत पालो कुनुपर्ने अवस्था आउने थिएन । भयाबह दृश्य देखेर अनि नागरिकको चित्कार सुनेर पनि नदेखेजस्तो, नसुनेजस्तो शासक प्रशासक गरिरहेका छन् । हुनत, देशमा तीन तहका सरकार छन्, यतिबेला । स्थानीय तह, प्रदेश अनि संघ सरकार महामारी बढिरहँदा पनि जनताको जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न असफल भए त ?

एक वर्षअघि नै साधारण, मध्यम र गम्भीर अवस्थाको सम्भावनालाई आँकलन गरेर फरक–फरक योजना तयार बनाइनुपर्नेमा यति गम्भीर अवस्था आउँदा पनि सरकार हात बाँधेर बस्नु भने नागरिकमाथीको गम्भिर अपराध हो । थप संक्रमण फैलिन नदिन संक्रमित र सम्भावित संक्रमितलाई छुट्याउने, टोल–टोलमा घुम्ती सेवामार्फत स्वाब संकलन गरेर संक्रमितलाई आइसोलेसन राख्ने अनि ट्रेसिङमा परेकाहरूको परीक्षण गर्ने दायीत्वबाट सरकार कहिलेसम्म भागेर जनता मारिरहने ? प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कोरोना महामारिबाट प्रताडित भएका संक्रमित र उनीहरुका आफन्तको तर्फबाट हाम्रो प्रश्न ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #अस्पतालहरुमा बेड

तपाईको कमेन्ट लेख्नुहोस्