गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार बन्ने
काठमाडौं । विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखेपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङको राजीनामा स्वीकृत भएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने बाटो खुलेको छ । एकल बहुमतका आधारमा सरकार नबन्ने भएपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान समेत गरेकी छन् ।
बैशाख २७ गते विश्वासको मत लिने बताएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नत् राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन विश्वासको मत पाउने कुनै आधार नदेखेपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सिता पौडेलसमक्ष आइतबार अपरान्ह बुझाएको राजीनामा स्वीकृत समेत भएको छ । उनी विरुद्ध बैशाख २ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
कोरोना भाइरसबाट संक्रमित गुरुङ उनी विरुद्धको अविश्वासको प्रस्तावमाथि हुने छलफलमा समेत सहभागी हुन पाउने थिएनन् । आफु विरुद्ध लगाइएका अभियोगमा आफैले जवाफ दिन नपाउने भएपछि गुरुङले त्यसअघि नै राजीनामा दिने निधो गरेको बताइएको छ । माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा परेका थिए । यद्यपी उनी विरुद्धको अविश्वासको प्रस्तावमा जनमोर्चाले हस्ताक्षर नगरेपनि पाटीको केन्द्रले अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्न निर्देशन दिइसकेको थियो ।
अविश्वासको प्रस्तावमा वैशाख १५ मा मतदान हुने कार्यसूची थियो । तर, संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो ।
गुरुङ नेतृत्वको सरकार बिरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२ काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । ६० सदस्य रहेको प्रदेश सभामा नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन चाहिन्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् । गुरुङको पक्षमा भने २७ सांसद मात्रै छन् । स्वतन्त्र जितेका दिपक मनाङेलाई गुरुङले मन्त्री बनाएपनि उनीले सरकार केही दिनमै ढल्ने बताएका थिए ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेर ३ दिनभित्र दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी छन् । अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गण्डकी प्रदेश, #मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्